अफगानिस्तानको पक्तिका प्रान्तमा पाकिस्तानले गरेको हवाई हमलामा क्लब स्तरका तीन क्रिकेटर सहित आठ जना नागरिकको ज्यान गएको छ ।
यो घटनाले दुई देशबीचको तनावलाई थप चर्काएको हो । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले विरोध स्वरूप नोभेम्बर तिर पाकिस्तानमा हुने त्रिकोणीय टी–२० शृंखलाबाट बाहिरिने निर्णय गरे ।
एसीबीले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा पाकिस्तानको उक्त हमलाको कडा शब्दमा निन्दा गरेको छ । हमलामा पक्तिका प्रान्तको राजधानी शारानामा मैत्रीपूर्ण क्रिकेट म्याच खेलेर फर्किंदै गरेका क्रिकेटरहरू कबीर, सिब्घतुल्लाह र हारून सहित पाँच अन्य नागरिकको मृत्यु भएको छ, भने सात जना घाइते भएका छन् ।
अफगान मिडियाका अनुसार, अर्गुन र बर्मल जिल्लाका धेरै घरहरू यो हमलाको निशानामा परे, जुन क्षेत्र डुरन्ड रेखा नजिक पर्छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार, यस हप्ता पाकिस्तानी हमलामा अफगानिस्तानका ६ प्रान्तमा ३७ नागरिकको मृत्यु भएको छ भने ४२५ जना घाइते भएका छन् ।
एसीबीले मृतक खेलाडीहरूको सम्मानमा र घटनाको प्रतिक्रिया स्वरूप नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिण्डीमा हुने पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीचको टी–२० शृंखलाबाट फिर्ता हुने घोषणा गरेको छ । यो शृंखला अफगानिस्तानले पाकिस्तानी भूमिमा पहिलो पटक क्रिकेट खेल्ने अवसरका रूपमा तय भएको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यो निर्णयबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यता, अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानमाथि नागरिक क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ, जबकि पाकिस्तानले आतंकवादी अखडाहरूमा कारबाही गरेको दाबी गरेको छ । यो हमला दुई देशबीच ४८ घण्टे युद्धविरामको सहमति भएको अवधिमा भएको बताइएको छ । घटनापछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले तालिवानको निर्णयलाई ‘दिल्लीबाट सञ्चालित’ भन्दै भारतमाथि ‘प्रोक्सी वार’ को आरोप लगाए । उनले युद्धविराम टिक्नेमा शंका व्यक्त गर्दै थप सैन्य कारबाहीको चेतावनी दिएका छन् ।
यस घटनाले अफगानिस्तान र पाकिस्तानबीचको सीमा विवाद र राजनीतिक तनावलाई थप जटिल बनाएको छ ।
(न्यूज एजेन्सीहरुको आधारमा तयार पारिएका समाचार)