रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग न्यायको आशामा पुगेका बीमा अपराध पीडित सत्येन्द्र पाण्डेले आज पत्रकार संग कुरा गर्दै आफूमाथि राज्यद्वारा संरक्षित अपराधीहरूबाट निरन्तर धम्की आइरहेको खुलासा गरे ।
सामाजिक सञ्जालमा भाइरल भएको ’बीमा अपराध बेकाबू’ भिडियोको सन्दर्भमा बोल्दै पाण्डेले भने, “मुख्यमन्त्रीज्यूसँग कुरा गरेको भोलिपल्टै नै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी) का पदाधिकारीहरू र उनका गुण्डाहरूले फोन र लिखित रूपमा कडा कारबाहीको धम्की दिएको तथा उक्त धम्कीको कल रेकर्ड र प्रमाणहरू सुरक्षित छन् ।”
पीडित पाण्डेका अनुसार, यो घटना दुई वर्षदेखि चलिरहेको बीमा ठगी मुद्दासँग जोडिएको छ । उनले एलआईसी का डीसीओ अरविन्द दत्ता लगायतका पदाधिकारीहरूले जनताको पैसाबाट वकिलहरू भाडामा राखेर मुद्दा मिलेमतोमा सल्टाउने खेल खेलेको आरोप लगाए । “मलाई बेपत्ता पार्ने वा हत्या गर्ने धम्की दिइँदैछ । यो राज्यको संरक्षणमा अपराधीहरूको कब्जामा बीमाको लुट संजाल हो,” पाण्डेले थपे ।
पीडितको पीडाः न्यायको ढोका बन्द
पाण्डेले जिल्ला प्रशासन रौतहटमा लिखित उजुरी दर्ता गरे पनि प्रहरीले फेरि पनि पुरानो नाटक दोहोर्याएको बताए । “जिल्ला प्रहरी रौतहटलाई पत्र लेखेर भाडामा टार्ने प्रयास भइरहेछ । मलाई सुरक्षा दिने निकायबाटै धम्की आउँदैछ,” उनले भने । थप रूपमा, बीमा कम्पनीका एजेन्ट पंकज कुमार पाण्डेय विरुद्ध वर्षौंदेखि उजुरी परे पनि प्रहरीले कारबाही नगरी उल्टै पाण्डेको विरुद्धमा जान मार्ने धम्कीको झूटा मुद्दा दर्ता गराउन खोजेको खुलासा गरे ।
जनकपुर प्रहरी कार्यालयमा पनि यस्तै षड्यन्त्र भइरहेको पाण्डेले बताए । “एलआइसी का परिचालित व्यक्तिहरूले पूर्वप्रधानमन्त्री केपी ओली र जेनजी को नाम जोडेर मलाई बदनाम पार्ने र कडा कारबाहीको सिफारिस गरेको आरोप लगाएका छन् । कल रेकर्डहरू प्रमाणस्वरूप सुरक्षित छन्”, उनले भने । यो घटनाले प्रहरी र बीमा कम्पनीबीचको गम्भीर षड्यन्त्र उजागर गरेको छ ।
वर्षौंदेखि न्यायविहीनः सरकारी निकायहरू बेखबर
पाण्डेको उजुरीमा जिल्ला प्रहरी रौतहट, सरकारी वकिल कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, गृहमन्त्रालय, मधेश सरकार, सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रपतिको कार्यालय सम्म पुगे पनि कुनै कारबाही भएको छैन । “दुई वर्ष बितिसक्दा पनि फैसला कार्यान्वयन हुन सकेन । यो बीमाको लुट संजालले नै न्यायिक प्रक्रियालाई कब्जा गरेको प्रमाण हो,” पाण्डेले गम्भिर आरोप लगाए ।
उनले थपे, “न्याय दिने निकायहरू समयमा न्याय नदिनु, नियामकहरू बेखबर हुनुले अपराधीहरू हौसिएका छन् । एलआईसीका का पदाधिकारीहरूले सार्वजनिक रूपमा ’जति प्रमाण भए पनि जनताको पैसाले वकिल राखेर मुद्दा सिद्ध्याउने’ योजना बनाएका छन् ।”
अन्तिम चेतावनीः न्याय नपाए चरम कदमको तयारी
अन्त्यमा पाण्डेले मिडिया र आम नेपालीहरूसँग भावुक अपिल गरे । “न्यायको लागि तपाईंहरू सबैसँग अनुरोध गर्दछु । न्याय नपाए म ती अपराधीहरू विरुद्ध जस्तोसुकै निर्णय लिन तयार छु । यो मेरो रहर होइन – आत्महत्या वा देशको लागि बलिदान दिने बाध्यता हुनेछु । राज्यले हत्या गराउँछ भनेर चेतावनी दिन्छु, तर हाम्रो सुरक्षा नदिनु वा न्याय नदिनु राज्यको अधिकार होइन,” उनले भने ।
यो घटनाले नेपालको बीमा क्षेत्रमा व्याप्त भ्रष्टाचार र न्यायिक ढिलासुस्तीको गम्भीर पक्ष उजागर गरेको छ । पीडित पाण्डेको यो खुलासाले मधेश प्रदेश सरकार र केन्द्रीय निकायहरूसँग तत्काल कारबाहीको अपेक्षा बढाएको छ । सामाजिक सञ्जालमा यो विषय ट्रेन्डिङ बन्दै गएको छ, जसले ठूलो बहसको रूप लिन सक्छ ।
(यो समाचार पीडित सत्येन्द्र पाण्डेको प्रत्यक्ष बयान र उपलब्ध प्रमाणहरूमा आधारित छ । थप अपडेटका लागि हामीलाई फलो गर्नुहोस् ।)