पर्सा, २८ मंसिर । वीरगञ्ज महानगरपालिकाले घण्टाघर नजिकै स–साना व्यापारीहरुले बर्षौ बर्ष देखि संचालन गरेका तरकारी तथा फलफुलको पसल माथि एका विहानै डोजर चलाएर उनीहरुलाई उठिबास बनाएका छन् ।
बिपी उद्यानको जग्गामा वर्षौंदेखि सञ्चालित अस्थायी थोक तरकारी तथा फलफूल बजारका संरचनाहरू माथि डोजर लगाएर भत्काएका हुन् ।
बिहान ५ बजे नै नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो सुरक्षा घेरामा उक्त कारवाही गरिएको बताइएको छ । करिब २५० भन्दा बढी अस्थायी टहरा, तरकारी–फलफूल पसल र खाना स्टलहरू ध्वस्त पारिएको हो ।
महानगरको दाबी छ कि यो कदम सार्वजनिक उद्यानलाई अव्यवस्थित अतिक्रमणबाट मुक्त गरी हरित र सुन्दर पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजना अन्तर्गतको कारवाही स्वरुप हो ।
महानगर प्रमुख राजेशमान सिंहले “पहिले नगवामा बजार बनाउँदा व्यवसायीहरू गएनन् । उनीहरूकै माग अनुसार छपकैयामा करोडौं लगानी गरेर आधुनिक बजार बनायौं, तर अझै अटेर गरे । यो बहाना मात्र हो ।” उनले बिपी उद्यानमा फोहर र अव्यवस्थाको ठूलो समस्या रहेको र अब करिब ७० करोड खर्चेर सुन्दर पार्क बनाउने योजना अघि बढाउने बताए ।
गत मंसिर २१ गते वीरगञ्ज–२ छपकैया स्थित रेल्वे रोड छेउमा नयाँ थोक बजार औपचारिक रूपमा सञ्चालनमा ल्याइएको थियो । उक्त बजारमा खुद्रा र थोक कारोबार अलग–अलग, फोहर व्यवस्थापन, पार्किङ र अन्य सुविधाहरूको व्यवस्थापन गरिएका छन् । महानगरले पटक–पटक सूचना जारी गर्दा पनि पुरानो बजारका व्यवसायीहरू नयाँ स्थानमा नगएपछि डोजर चलाउन बाध्य भएको जनाएको छ ।
यता, फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष जगु साह तुराहाले महानगरको कारबाहीलाई एकतर्फी भनेका छन् । “बिना पूर्व सूचना डोजर चलाउँदा लाखौंको ताजा तरकारी नष्ट भएको गम्भीर आरोप लगाए । छपकैया हामीलाई पायक पर्दैन, रक्सौल नजिक भएकाले उपभोक्ता सिधै भारत गएर सस्तोमा किन्न सक्छन्, हाम्रो व्यवसाय संकटमा पर्छ,” उनले भने ।
उनले ठेक्का प्रक्रिया अपारदर्शी भएको र बाहिरियालाई दिएको आरोप पनि लगाए । कारबाहीका क्रममा व्यवसायीहरूले कडा विरोध जनाए, सडक जाम गरे, संरचनामा आगजनी गरे र ढुंगा हाने । स्थिति तनावपूर्ण बने पनि प्रहरीले नियन्त्रणमा लिए ।