काठमाडौं, २८ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारलाई चुनाव नगराउने र स्वार्थ समूहको प्रभावमा परेको गम्भीरु आरोप लगाए ।
सरकार गठन भएको तीन महिनापछि पनि मन्त्रिपरिषद् विस्तारको नाटक गर्दै प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन रोक्ने प्रपञ्च रचेकोमा उनले आपत्ती जनाएका हुन् ।
आइतबार काठमाडौंको गैरीगाउँमा आयोजित ’संसद् पुनस्र्थापनाको षड्यन्त्र रोक्न’ भन्ने आजपाको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै साहले सरकारलाई जेन–जी युवा पुस्ताहरूको भावना विपरीत हिडिरहेको र गलत निर्णयहरू लिन थालेको प्रति आलोचना गरे ।
उनले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने मूल दायित्व नबिर्सिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै संसद् पुनस्र्थापनाको षड्यन्त्र रोक्न देशव्यापी दबाबमुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए ।
साहका अनुसार, एमालेका केपी ओली समूह र कांग्रेसको शेरबहादुर देउवा समूहले चुनाव नचाहेको र संसद् पुनस्र्थापनाको तानाबाना बुनेको बेला प्रधानमन्त्री पनि उनीहरूकै सहयोगी बन्न थालेकी छन् । ’जेनजी आन्दोलन दमन गर्ने ओलीहरू षड्यन्त्रमा छन्, देउवा ग्याङ ओलीको पुच्छर बनेर अदालत धाइरहेको छ । प्रधानमन्त्री पनि उनीहरूको डिजाइनमा हिँड्न थाल्नुभयो,’ साहले भने ।
’केही मन्त्री नियुक्तिमा विषयविज्ञता एउटा र नियुक्ति अर्कैमा दिइएको छ, यो स्वार्थ समूहको प्रभाव हो । चुनाव हुन्छ त यस्तै पाराले ?’ उनले प्रश्न उठाए ।
सरकार र जेन–जी बीचको सम्झौतालाई धोकाको दस्तावेज भन्दै भ्रष्टाचार अन्त्य र सुशासनमा सरकारले हस्तक्षेपकारी भूमिका नखेलेकोमा आक्रोश पोखे । साथै, मन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गर्न माग गरे । ’निर्दलीय सरकारमा बसेर दल खोल्ने र सरकारी स्रोत साधनको दुरुपयोग गर्ने कुलमानलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्छ,’ साहले भने ।
उक्त भेलामा आजपा सहअध्यक्ष तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषि धमला, संविधान सभा सदस्य योगेन्द्र घिसिङ, सचिवालय सदस्य बालकृष्ण सापकोटा, कबाड व्यवसायी नेता रामकेवल गुप्ता, सुकुम्बासी संघका महासचिव एमडी सतार लगायतको सहभागिता थियो ।