रौतहट, ८ पुस । विगत चार–पाँच दिनदेखि तराई–मधेशका विभिन्न जिल्लाहरूमा निरन्तर रुपमा चलिरहेको शीतलहर र बाक्लो हुस्सुका कराण सामान्य जनजीवन प्रभावित भएका छन् ।
खास गरेर तराई मधेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा लगायतका जिल्लाहरुमा विहानै देखि निरन्तर शीतलहर र बाक्लो हुस्सु÷कुहिरोका कारण अत्यधिक चिसो बढेका हुन् ।
गएको शुक्रबारदेखि सुरु भएको यो मौसमी प्रकोपले सामान्य जनजीवनलाई निकै कष्टकर बनाएको छ ।
प्रभावित क्षेत्र र समस्याहरूः
बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र अशक्तहरू बढी जोखिममा छन् । चिसोजन्य रोगहरू (जस्तैः निमोनिया, श्वासप्रश्वास समस्या) बढ्ने सम्भावना उच्च छ ।
विपन्न, दलित र अल्पसंख्यक परिवारहरूमा न्यानो कपडाको अभावले थप कठिनाइ रहेको छ । मानिसहरू घर, चोक–चौतारी र बजारमा आगो तापेर बस्न बाध्य रहेका छन् ।
पशुचौपाया र पन्छीहरू पनि प्रभावित हुनुका साथै, कृषि बालीमा समेत असर पर्न थालेका हुन् ।
दिउँसो पनि घाम नलाग्दा र बाक्लो हुस्सुले सवारी साधनहरू दिउँसै हेडलाइट बालेर गुडाउनु पर्ने अवस्था सृजना भएको छ ।
सरकारी तथा स्थानीय प्रयासः
हालसम्म स्थानीय पालिका, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य निकायहरूबाट प्रभावितहरूलाई न्यानो कपडा, कम्बल वा अन्य राहत वितरणमा खासै सक्रियता देखिएको छैनन् ।
केही जिल्लाहरूमा कम्बल र दाउरा वितरणको तयारी भइरहेको समाचारहरू प्राप्त भएका छन् ।
चिकित्सकको सुझावः
चिकित्सकहरूले सबैलाई न्यानो कपडा लगाउन, झोलिला र तातो खानेकुरा खान तथा बालबालिका–वृद्धहरूलाई विशेष ख्याल गर्न आग्रह गरे ।
शीतलहर तराई–मधेशमा हरेक वर्षको जाडोयाममा देखिने समस्या हो, जसले विशेषगरी गरिब समुदायलाई बढी प्रभावित पार्छ । मौसम पूर्वानुमान अनुसार यो क्रम केही दिन जारी रहन सक्छ । प्रभावित क्षेत्रका बासिन्दाहरूले सतर्कता अपनाउनु आवश्यक रहेको देखिन्छ ।
सामुदायिक तथा संस्थागत विद्यालय बन्द
बढ्दो चिसोको कारण गौर नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्देशन अनुसार आउदो पुस ११ गते सम्म विद्यालयहरु बन्द रहने जनाइएको छ ।