काठमाडौं, ९ पुस । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अन्तरिम सरकार जेनजी हत्यारा र भ्रष्टाचारीहरूको सेवामा समर्पित भएको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई कडा आलोचना गरेका छन् ।
उनले बयान लिनुपर्ने अपराधीहरूलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको भन्दै आलोचना गरेका हुन् ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री कार्की जेनजी हत्यारा र भ्रष्टाचारीसँग चिया संवाद थालेकोमा तीव्र आक्रोश व्यक्त गरे ।
“अन्तरिम सरकार जेनजी हत्याराहरूको सेवामा समर्पित छ, बयान लिनुपर्नेहरूलाई रातो कार्पेट ओछ्याएर चाकडी गरिरहेको छ,” साहले भने, “जेनजी आन्दोलन दमनकारी (ओली सरकार) र अपहरणकारी (सुशीला सरकार) ले युवाहरूको रगतको अवमूल्यन गरे ।”
केपी ओलीको अहंकारका कारण मुलुक खरानी भएको बताउँदै साहले ओलीको धाक र धम्की अझै नरोकिएको उल्लेख गरे । सचेत नेपाली जनताले यसलाई नजिकबाट नियालिरहेको र आगामी निर्वाचनबाट जवाफ दिने तयारीमा रहेको उनको भनाइ थियो ।
तर, सुशीला सरकारले चुनाव नगराउने खेलमा लागेको आशंका व्यक्त गर्दै साहले यदि चुनाव नगर्ने सोचेको छ भने सरकारमा बसेकाहरू २१ फागुनपछि देश छोडेर भाग्ने दिन आउने चेतावनी दिए । “संसद् पुनःस्थापनाको नाटकमञ्चन बन्द नगरे जनताले प्रतिकार गर्नेछन् । चुनावबाहेक निकासको अर्को बाटो छैन । त्यसैले तोकिएकै मितिमा निर्वाचन गर्नुको विकल्प छैन,” उनले भने, ।
वर्तमान सरकारले मुलुकलाई ढुंगे युगमा धकेलेको बताउँदै साहले सबै देशसँगको सम्बन्ध टुटाएको र राजदूतहरू फिर्ता गरेर त्यसको सुरुवात गरेको आरोप लगाए । अमेरिका, चीनलगायत देशले यस्तो विषम परिस्थितिमा नेपालबाट आफ्ना राजदूत फिर्ता बोलाउनु समीक्षाको विषय भएको उनको टिप्पणी थियो ।
सरकारमा बसेर राजनीतिक दल बनाउने र उम्मेदवार खोज्दै घरदैलो गर्नेहरूको निर्वाचन कसरी सम्पन्न गर्नेतर्फ ध्यान नभएको साहले बताए। “नयाँ र विकल्प दिन्छु भन्नेहरू पनि लोकप्रिय अनुहारको खोजीमा घरदैलोमा हिँड्न थाल्नु दुःखद् हो,” उनले भने ।
चुनावको मौका छोपेर राजनीतिमा आउने र दल खोल्नेहरू देश र जनताप्रति गम्भीर नभएको बताउँदै साहले उनीहरू लोभले राजनीतिमा लागेको आरोप लगाए ।
बैठकले आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्दै उम्मेदवार छनोटको मापदण्डलगायत एजेन्डाहरूमा छलफल भएको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिए ।