रौतहट, ११ पुस । रौतहटमा यस्तो स्थानीय तह रहेका छन् जहाँको प्रमुख आफनो अनुकुलका प्रमुख प्रशासकीय अधिकृत ल्याउनमा महिनामा दुई पटक संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउने गरेको पाइएका छन् ।
यमुनामाई गाउँपालिकाको अध्यक्ष महमद सउदले आफ्नो अनुकुल प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत गत तीन महिनामा तीन पटक संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रप्रअ पठाइदिन पत्राचार गरेका हुन् ।
महिनै पिच्छे प्रप्रअ फेर्ने निर्णयबाट पालिकाको नीतिगत काम काज एवं विकास निर्माणमा भईरहेको कठिनालाई कुनै वास्ता नगरी पालिका अध्यक्ष सउदले जे मन लाग्यो त्यस्तै निर्णय गरेर पालिकालाई अनिर्णयको बन्दी बनाएको स्थानीय जितेन्द्र आर्याले आरोप लगाए ।
गत कार्तिक १८ गते सुशिलकुमार साहको कामकाज सन्तोष जनक नरहेको र निज आएको दिनदेखि नै कार्यालयको कामकाज नगरी अन्य गतिविधिमा नै संलग्न रहेकोमा कार्यालयको आर्थिक तथा प्रशासनीक कार्यमा अप्ठ्यारो भईरहेको हुँदा सुशासन कायम गर्न समस्या भईरहेको हुँदा निजलाई अन्य कुनै ठाउँमा सरुवा गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वकिल प्रसाद पाललाई नियुक्त गरिदिन गाउँपालिका अध्यक्ष सउदले पत्रचार गरेका थिए ।
उनको पत्रचार पश्चात कार्तिक २७ गते मन्त्रालयले पाललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा यमुनामाईमा खटाइएका थिए । मंसिर १९ गते पालिका अध्यक्ष सउद पहिलाकै व्यहोराको कपीपेष्ट गर्दैैै स्वास्थ्य शाखा प्रमुख डा सुधिरकुमार सिंहलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्न पत्रचार गरेको थियो ।
मन्त्रालयमा सिंहलाई सहमती नदिएपछि पुनः अध्यक्ष सउदले पुस ९ गते त्यही आयुर्वेदमा कार्यरत रहेका रामश्रेष्ठ राय यादवलाई नियुक्त गर्न पत्रचार गरेको छ । माथिकै व्यहोराको कपिपेष्ट गर्दै पाललाई अन्यत्र सरुवा गरेर यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नियुक्ति गर्न पालिका अध्यक्ष सउदले हस्ताक्षर गरेको पत्र प्राप्त भएको छ ।
तिन महिनामा तीन जना अधिकृतलाई ल्याउन पालिका अध्यक्ष सउदले आफनो अनुकुलताको लागि सिंगो गाउँपालिकालाई नै बन्धक बनाएको जितेन्द्रले बताए । गाउँपालिकाको कार्यालयमा अध्यक्ष सउद नबसी होटलमै बसेर यस्ता पत्रहरु तयार पारेर आफू अनुकुलताको हाकीम ल्याउने कार्यको कारण पालिका लथालिंग अवस्थामा पुगेका छन् । उक्त कार्यमा लेखापाल श्रीनारायण झाको बदमाशी त्यतीकै रहेको उनले आरोप लगाए ।
स्थानीय तह लागु भएदेखि नै सोही पालिकामा लेखापालको जिम्मेवारीमा रहेर आर्थिक अपचलन गर्दै पालिकामाथि आर्थिक व्यय भार थुपार्दै आएको बताए ।