रौतहट, १२ पुुस । नेपाल भारत मैत्री संघ रौतहटको समन्वयमा इशनाथ नगरपालिकाको बन्जरहा गाउँमा एक दिने निःशुल्क मोतिबिन्दु शैल्यक्रिया शिविर शनिवार सम्पन्न भएका छन् ।
इशनाथ नगरपालिकाको योद्धा एवं सामाजसेवी ग्रिषनन्दन कुमार सिंहको बिशेष पहलमा नेपाल भारत मैत्री संघको समन्वय तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना एवं प्राविधिक सहयोगमा सीमावर्ती गाउँ बन्जरहा गाँउ स्थित आधारभुत विद्यालयमा आज एक दिने निःशुल्क मोतिबिन्दु शैल्यक्रिया शिविर शनिवार सम्पन्न भएका हुन् ।
सम्पन्न शिविरमा ४१९ महिला, ३२३ पुरुष गरी ७४२ जनाले आँखाको परिक्षण गराए । जसमध्ये १५६ जनालाई चश्मा वितरण, २२९ लाई औषधी र १२७ जनालाई मोतिबिन्दुको शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष गृषनन्दनकुमार सिंहको अध्यक्षतामा भएको एकदिने निःशुल्क आँखा शिविरको उदघाटन सत्रमा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष शैलेन्द्र मोहन झा, विशिष्ट अतिथि पूर्व मन्त्री विहार विधान सभा सदस्य राणा रणधीर सिंह, नेपाली काँग्रेस जिल्ला सभापति प्रदेश सभा सदस्य पूर्व अर्थ मन्त्री सुनिलकुमार यादव, इशनाथ नगरपालिकाको नगरप्रमुख कौशल्या देवी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, उपनगरप्रमुख मो. प्रवेज आलम, नेत्र ज्योती संघ रौतहटको अध्यक्ष विजयकुमार सिंह, एसपी रबीन कार्की, सशसत्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोक, नेत्रज्योती संघका सचिव बच्चाबाबु यादव, पंचायत समिति सदस्य बलुवा गुवाबारी भारतका अएदुल्लाह अंसारी र बन्जरहाका कार्यवाहक वडाध्यक्ष तजमुल खाँको उपस्थिति रहेको थियो ।
नेपाल भारत मैत्री संघ रौतहटले नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालको समन्वयमा सम्पन्न भएको एक दिने आँखा परिक्षण शिविर एवं शैल्यक्रिया कार्यक्रमबाट सीमावर्ती क्षेत्रमा बसोबास गर्ने गरिव, असहाय, पिछडिएका वर्ग सहित सम्पन्न परिवारका मानिसहरु पनि उल्लेख्य संख्यामा उपस्थित भएर आँखाको परिक्षण गराएकोमा नेपाल भारत मैत्री संघ रौतहटका अध्यक्ष गृषनन्दनकुमार सिंहले आभार एवं धन्यवाद व्यक्त गरे ।
शिविरमा परिक्षण गराउन आएका नागरिकहरुलाई गौर आँखा अस्पतालका नेत्र चिकित्सक डा. मनोजकुमार साहको नेतृत्वमा १५ जना प्राविधिक टोलीले सेवा प्रदान गरेको तथा उत्साह पुर्वक यस भेगका मानिसहरु शिविरमा उपस्थित भएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।