चाँदनी खान
रौतहट, २१ पुस । धनुषाको कमला नगरपालिका–६ सखुवा मरान स्थित मुस्लिम टोलमा रहेका मस्जिद तोडफोड एवं कुरान जलाउने कार्यमा संलग्न व्यक्तिहरुलाई अविलम्ब समातेर कारवाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई नेपाल मुस्लिम शान्ति समाज रौतहटले ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल मुस्लिम शान्ति समाज रौतहट ब्यानर तथा मुस्लिम अगुवा अनवर हासमीको अगुवाईमा निस्किएका मुस्लिम समुदायका युवाहरु एवं धर्मगुरुहरु नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा पुगेर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल मार्फत गृह मन्त्रीलाई कारवाहीका लागि ज्ञापन पत्र बुझाएका हुन् ।
६ सुत्रीय मागहरु राख्दै बुझाएको ज्ञापन पत्रमा तत्काल दोषीलाई पहिचान गरेर पक्राउ गरी सार्वजनिक गरियोस । दोषीलाई कडा भन्दा कडा कारवाही गरियोस । लुटपाट तथा तोडफोडको क्षतिपुर्ति दिलाइयोस, धार्मिक स्थलहरुको सुरक्षा सुनिश्चित गरियोस । मुस्लिम माथि हुने पटक पटक आक्रमण अन्याय अत्याचार बन्द गरियोस । सामाजिक सदभाव कायम गरियोस र कानुन सबैका लागि बराबर होस । भनेर ज्ञापन पत्र प्रजिअ भुसाललाई बुझाएको मस्लिम अगुवा हासमीले बताए ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भुसालले समाजमा सबै धर्म, वर्गका नागरिकहरुलाई सामान व्यवहार एवं सदभाव कायम राख्न अपिल गर्दै कसैको धर्म माथि आघात पुर्याउनेलाई स्थानीय प्रशासनले कडा कारवाही गर्ने बताए । यहाँ कुनै किसिमको धार्मिक सदभावमा खलल पुर्याउने कार्यमा संलग्न नुहन तथा त्यस्तो गरिएको पाइएमा कारवाहीको भागी हुने उनले चेतावनी दिए ।
यसअघि यमुनामाई गाउँपालिकाको मलहेनिया चोक, सरुअठा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । गौर नपा ५ स्थित जामिया मस्जिदमा उल्लेख्य संख्यामा उपस्थित भई मुस्लिम अगुवाहरु घण्टाघर चोकमा टायर बालेर चर्को नाराबाजी गरे ।
ज्ञापन पत्र दिएपछि जिल्ला प्रशासन कार्यालय गौरका अगाडी मुस्लिम अगुवा महम्मद शाहिदले अमन चैन कायम राख्न प्रार्थना गरेर आजको ज्ञापन पत्र एवं रयाली कार्यक्रम सम्पन्न भए ।