वीरगञ्ज, २१ पुस । टिकटक भिडियोका कारण सुरु भएको धार्मिक विवादले वीरगञ्जलाई तनावग्रस्त बनाएका छन् ।
सोमबार छपकैया क्षेत्रको ईदगाह चोकमा मुस्लिम समुदायका केही व्यक्तिहरूले एउटा मोटरसाइकलमा आगो लगाएपछि स्थिति थप बिग्रिएका हुन् ।
यस घटनाले वीरगञ्ज सहरको सुरक्षा अवस्था अत्यन्तै तनावपूर्ण बनेको छ ।
यसअघि हिन्दु धर्म, देवी–देवता, पर्व र मन्दिरहरूप्रति आपत्तिजनक टिप्पणी गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै हिन्दु समाजको आह्वानमा हजारौंको संख्यामा जुलुस र प्रदर्शन भएको थियो । प्रदर्शनमा धार्मिक संघ–संस्था, युवा, महिला र समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता थियो ।
स्थिति नियन्त्रण बाहिर जाने जोखिम बढेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ दिउँसो १ बजेदेखि अर्को सूचना नआउँदासम्म भेला, सभा, जुलुस र प्रदर्शन पूर्ण प्रतिबन्धित गरिएको हो ।
निषेधाज्ञा लागु क्षेत्रः पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट रहेका छन् । उक्त क्षेत्र वीरगञ्जको केन्द्रीय र व्यस्त क्षेत्र पर्दछ ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम आदेश जारी गरेको जनाएको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी, एसपीहरू र नेपाली सेनाको टोली पनि फिल्डमा खटिएका छन् ।
निषेधाज्ञा जारी भए पनि विभिन्न ठाउँमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरे ।
घण्टाघर चोक, माइस्थान चोक, बसपार्क लगायतका क्षेत्रमा जनजीवन सामान्य छ । प्रशासनले अफवाह नफैलाउन, संयम अपनाउन र सुरक्षाकर्मीलाई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
वीरगञ्ज तनाव बन्नुको पृष्ठभूमिः
धनुषाको कमला नगरपालिकामा टिकटक भिडियोले धार्मिक भावना आहत पारेपछि मस्जिद तोडफोडको प्रयासबाट सुरु भएको हो । त्यसको विरोधमा मुस्लिम समुदायको प्रदर्शन र त्यसपछि हिन्दु पक्षको प्रतिक्रियाले स्थिति जटिल बन्दै गएको छ। मधेस प्रदेशका ८ वटै जिल्लामा सुरक्षा व्यवास्थालाई कडा बनाइएका छन् ।
यस्ता धार्मिक सदभावमा खलल पुर्याउने घटनाले मधेसको सामाजिक सद्भाव कायम राख्न संवाद र संयमको महत्वलाई फेरि उजागर गरेको छ । यस अघि मुख्यमन्त्री कृष्ण यादवले एकता र शान्तिको आह्वान गर्दै दोषिको पहिचान गरेर कारवाही गर्न प्रतिबद्धता जनाएका थिए ।