मेवालाल यादव
रौतहट, २७ पुस । राष्ट्र निर्माण दल नेपालले आफनो संगठन विस्तार गर्ने क्रममा रौतहट सदरमुकाम गौरबाट मधेश प्रदेशमा पहिलो नगर समितिको रुपमा विस्तार गरेका छन् ।
गौर नगरपालिका–४ सोबर्ना माईको प्राङ्गणमा उपस्थित भएका नेता एवं कार्यकर्ताहरु बीच गहन छलफल पश्चात विन्देश्वर सहनीको अध्यक्षतामा ११ सदस्य गौर नगर समितिका गठन गरेका हुन् । मधेश प्रदेशमै पहिलो नवगठित नगरसमितिका सचिव श्यामसुन्दर यादव, कोषाध्यक्ष गीता देवी रहनु भएको छ ।
सदस्यहरुमा रविन्द्र पण्डित, रामइश्वर यादव, छेदीराय यादव, सत्यनारायण साह, जगदिश, नागेन्द्र बैठा, नर्जला देवी र जबिसा खातुन रहेको जानकारी प्रेस नोटको माध्यमबाट जानकारी गराइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य इस्तियाक अहमदले राष्ट्र निर्माण दल नेपालको राजनीतिक दर्शन, संगठनात्मक लक्ष्य तथा भावी कार्य योजनाबारे प्रकाश पारेका थिए ।
देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद र राजनीतिक अस्थिरताको अन्त्यका लागि जनआधारित र जिम्मेवार राजनीतिक शक्तिको आवश्यकतालाई औंल्याउँदै राष्ट्र निर्माण दल नेपाल निर्माण भई त्यस तर्फ अघि बढिरहेको बताए ।
स्थानीय तहमा संगठन मजबुत नबनाई राष्ट्रिय राजनीति सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्दै नवगठित नगर कमिटीलाई जनताको विश्वास जित्ने गरी काम गर्न केन्द्रीय सदस्य आलमले आग्रह गरे ।
पार्टीले सबै वर्ग, जाति, समुदाय र पुस्तालाई समेटेर समावेशी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै गौर नगरबाट संगठन विस्तारको नयाँ अध्याय सुरु भएको केन्द्रीय सदस्य आलमले स्पष्ट पारे ।
पार्टी नेतृत्वले आगामी दिनमा वडा तथा टोलस्तरसम्म संगठन विस्तार गर्दै जनताका समस्या, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउने योजना रहेको केन्द्रिय सदस्य सङीता चौधरीले स्पष्ट पारे ।
सो नगर समिति गठन कार्यक्रममा परोहा नगरपालिकाका राजेश साह, संजीव सिंह, विभिन्न वर्ग, समुदाय र पेशागत क्षेत्रका नागरिकहरू , समाजसेवी, बुद्धिजीवी, दलित समुदायका प्रतिनिधि, महिला, जेन–जी युवा लगायत विभिन्न राजनीतिक, सामाजिक तथा नागरिक समाजका व्यक्तिहरू सहभागी थिए ।