सञ्जय मिश्रा
रौतहट, ३० पुस । मधेश प्रदेश सरकारले जनकपुरधाम स्थित रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि अपुग बजेट उपलब्ध गराउन संघीय सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले उक्त रंगशालालाई प्रदेशका गौरव आयोजनाको रुपमा घोषणा गर्दै त्यसको लागत प्रदेश सरकारको एक्लो स्रोतबाट धान्न सम्भव नरहेको निष्कर्ष निकालेको हो ।
सोही आधारमा संघीय सरकारसँग सहकार्य र आर्थिक सहयोग माग्ने निर्णय गरिएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री ई. बसन्त कुशवाहाका अनुसार रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि कुल अनुमानित लागत ९ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
पहिलो चरणमा क्रिकेट स्टेडियम, फुटबल मैदान, कवर्ड हल तथा लन टेनिस कोर्ट निर्माण गरिने छ, जसका लागि करिब २ अर्ब ७५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
मधेश प्रदेशमा खेलकुद पूर्वाधारको अभाव लामो समयदेखि चर्चामा रहँदै आएको विषय हो । जनकपुरधाम जस्तो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण हुनु केवल खेलकुद विकास मात्र नभई धार्मिक पर्यटन र स्थानीय अर्थतन्त्र प्रवद्र्धन सँग समेत जोडिएको विषय रहेको बताइएको छ ।
तर प्रदेश सरकारको सीमित बजेट संरचना हेर्दा यस्ता ठूला परियोजना संघीय सरकारको सहयोग बिना अघि बढ्न कठिन देखिन्छ । यही यथार्थलाई स्वीकार गर्दै मन्त्रीपरिषद्ले संघसँग सहयोग माग्ने निर्णय गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको बुझिएको छ ।
खेलकुद मन्त्री कुशवाहाले जिम्मेवारी सम्हालेयता खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राख्दै आएका छन् । रामजानकी रंगशाला उनको कार्यकालको सबैभन्दा महत्वाकांक्षी परियोजनामध्ये एक मानिन्छ । तर निर्णय कागजमै सीमित नहुने कि संघीय सरकारले कत्तिको चासो र प्रतिबद्धता देखाउँछ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने उनले बताए ।
प्रदेश सरकारले औपचारिक रुपमा पत्राचार मार्फत संघीय सरकारसँग बजेट सहयोगको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।