सर्लाही, १ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंद्वारा सर्लाहीको बलरा नगरपालिकाको नगरप्रमुख सहित ८ जना विरुद्ध भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
अख्तियारले विशेष अदालतमा दायर गराएको आरोप पत्रमा, २०८०–०८१ मा बलरा नगरपालिकाको नगरसभाबाट पारित भएका कार्यक्रम “किशोरीहरुको लागि खेलौना बनाउने” तालिम शिर्षकमा चार लाख विनियोजित रकम मध्ये ३ लाख ९९ हजार ९९९ रुपैया ७० पैसा लागत अनुमानित रकम तयार पारेर बलरा नगरपालिका र शान्ति विकास कल्याण केन्द्र गौर–८ रौतहट बीच सम्झौता भएका थिए ।
बलरा नपा–५ मा ३० दिन सम्म तालिम संचालन गरेको, १७ जना सहभागी देखाइएकोमा उक्त हस्ताक्षर र औठा छाप राष्ट्रिय विधि विज्ञान प्रयोगशाला बर्दिवासमा परिक्षण गराउदा ९ जनाको हस्ताक्षर र औंठा छाप नमिलेको, स्थलगत रुपमा अनुसन्धान गर्दा पाँच दिन मात्रै तालिम संचालन भएकोमा सहभागीलाई यातायात खर्च समेत नदिएको तथा २०८१ वैशाख ११ देखि जेठ १० गते सम्म तालिम संचालन गरेको भन्दै नक्कली विल भर्पाई बनाएर भ्रष्टाचार गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
नक्कली विल भर्पाईका आधारमा ३ लाख ८२ हजार ५३ रुपैया भुक्तानी लिनेदिने कार्यमा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा, वडाध्यक्ष मनोज सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिलकुमार साह, योजना शाखा प्रमुख उदयकुमार साह, सहायक लेखापाल राजकुमार महतो, शान्ति विकास केन्द्र गौर–८ रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, केन्द्रकै उमेशकुमार पासवान र जाजुल मिया कवारी विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उप दफा (१) को (ङ) वमोजिम माग दाबी सहित विशेष अदालतमा आरोप पत्र पुस ३० गते अख्तियारले दायर गरेको उल्लेख गरिएका छन् ।
आरोप पत्रमा जानीबुझी झुठा विवरण नक्कली विल सहितका कागजातहरु तयार पार्न लगाएर भुक्तानी लिनेदिने कार्यमा तालिम उदघाटन र समापनमा नगरप्रमुख कुशवाहा र वडाध्यक्ष सिंहको हस्ताक्षरबाट नगरपालिका माथि आर्थिक हानीनोक्सानी पुर्याएकोमा निज प्रतिवादीहरु विरुद्ध विगो अनुसारको कारवाही एवं दण्ड जरिवाना सहितको कारवाहीका लागि विशेषमा आरोप पत्र दायर भएपछि इमान्दार बन्नेहरुको छवी उजार भएका छन् ।