रौतहट, ६ माघ । २५औं सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालको पूर्व–पश्चिम झण्डा मार्च टोली रौतहट आईपुगे ।
यहाँ विविध कार्यक्रमहरु गर्दै उक्त टोली बारा तर्फ सोमवार प्रस्थान गरेको हो ।
गत पुस २० गते पूर्वी सीमा झापाबाट सुरु भएको झण्डा मार्च टोली माघ ४ गते रौतहट आइपुगेका थिए भने औपचारिक रुपमा माघ ५ गते झण्डा बारा जिल्लालाई झण्डा हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।
नेपालतर्फ रौतहटको बौधिमाई नगरपालिका–७ बंकुलस्थित अरुवा खोला र भारततर्फ पूर्वी चम्पारण जिल्लाको झरोखर ग्राम पञ्चायत–५ अन्तर्गतको सानो सीमा स्तम्भ नम्बर ३५६÷३ नजिक आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण का गणपति सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी नेतृत्वको टोलीले ल्याएको नेपालका राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल नेपालको झण्डा सशस्त्र प्रहरी बल नेपाल नम्वर १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी नेतृत्वको टोलीलाई हस्तान्तरण गरिएको थियो।
उक्त झण्डा हस्तान्तरण कार्यक्रममा बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादव, सिमौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार, यमुनामाई नगरपालिकाकी उप–प्रमुख प्रमिला देवी, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबिन कार्की, राष्ट्रिय अनुसन्धानका उप–निर्देशक कुमार बुढाथोकी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका डिएसपी प्रेमसागर बिष्ट, पिपरपाती बाराका गुल्मपति डिएसपी. नबिन अधिकारी, सिमौनगढ नगरपालिकाका वडा अध्यक्षहरू, स्थानीय भद्रभलादमीहरु, सञ्चारकर्मी, सशस्त्र प्रहरीका अधिकृत तथा जवान र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा बौधिमाई नगर प्रमुख यादव र प्रमुख जिल्ला अधिकारी भुसालले संयुक्त रूपमा सिमौनगढ नगर प्रमुख किशोरी प्रसाद कलवारलाई हस्तान्तरण गरेका थिए भने सशस्त्र प्रहरी बल नेपालको झण्डा एसपी अधिकारीले बाराका एसपी केसी लाई हस्तान्तरण गरिएको थियो ।
झण्डा मार्च कार्यक्रममा भारतीय समकक्षी सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) नं. ७१ बटालियन एफ कम्पनीका कम्पनी कमाण्डर असिस्टेन्ट कमाण्डर नेतृत्वको टोलीको पनि सहभागिता रहेको जनाइएको छ ।
सशस्त्र प्रहरीका एसपी अधिकारीका अनुसार झण्डा मार्च टोली नेपाल–भारत सीमा क्षेत्रमा पैदल मार्च गर्दै माघ ११ गते पर्सा जिल्लाको बीओपी ठोरीमा पुगेर औपचारिक रूपमा कार्यक्रम समापन हुने छ ।