रौतहट, १५ माघ । यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद सउदले राम श्रेष्ठ राय यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन कुनै पनि हद पार गर्न सक्ने देखिएको छ ।
केही दिनअघि मात्र २–३ हप्ताभित्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाउने उद्देश्यले स्वास्थ्य तर्फका दुई फरक–फरक जुनियर कर्मचारीलाई सरुवा सहमति दिएको भन्दै तयार गरिएका पत्रहरू सामाजिक सञ्जालमा भाइरल भएको हो ।
ती पत्रहरू किर्ते र नक्कली भएको आशंका सार्वजनिक भएसँगै मिलेमतोमा संलग्न कबिराज यादव र गाउँपालिका अध्यक्ष सउद हच्किएका छन् । ती सरुवा सहमति पत्रबारे प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालसँग बुझ्दा उनले ती पत्रहरू पूर्ण रूपमा किर्ते र नक्कली रहेको खुलासा गरेका छन् ।
पालका अनुसार ती पत्रहरूमा प्रयोग गरिएका चलानी नम्बरहरू दोहोरिएको पाइएको छ र सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइ सकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत पालले अध्यक्ष सउद वडा नम्बर १ का वडाध्यक्ष नन्दलाल राय यादव र कविरा यादवसँग मिलेमतो गरी गाउँपालिकाको लेटरप्याड दुरुपयोग गर्दै अघि नै प्रयोग भइसकेका चलानी नम्बर राखी विभिन्न किर्ते पत्रहरू तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंमा पत्राचार गरेका छन् ।
गाउँपालिकाको चलानी नम्बर ४२० मिति २०८२–०८–१६ मा राय प्रतिक्रिया सहितका कागजात तुरुन्त पठाउने विषयमा चलानी रजिष्टरमा अभिलेख देखिए पनि सोही चलानी नम्बर र मिति २०८२–०८–१९ राखी फरक आशयको अर्को पत्र मन्त्रालयमा पठाइएको कुरा सामाजिक सञ्जालमा भाइरल भएको पालले बताए ।
त्यसैगरी अध्यक्ष सउदले मिति २०८२–०९–०५ मा कार्यालय बाहिर बोलाइएको भनिएको कार्यपालिका बैठकबारे आफूलाई कुनै जानकारी नरहेको कुरा पनि प्रमुख प्रशासकीय अधिकृत पालले भने । यसअघि पनि पटक–पटक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका वरिष्ट कविराज निरीक्षक अधिकृत यादवलाई पुनः निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गरिएको निर्णय देखाइएको छ ।
सो निर्णयका आधारमा प.सं.०८२–०८३ च.नं. ४५९ मिति २०८२–०९–०९ मा आर्थिक प्रशासन शाखाका लागि श्रेस्ता उपलब्ध गराउने विषयमा अघि नै चलानी भइसकेको चलानी किताबमा देखिन्छ । तर उही मिति र उही चलानी नम्बर प्रयोग गरी अध्यक्ष सउदले यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन अनुरोध गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अर्को किर्ते पत्र तयार गरी पत्राचार गरिएको गम्भीर आरोप लागेको छ ।
प्रमुख प्रशासकीय अधिकृत पालका अनुसार गाउँपालिका अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित जनप्रतिनिधिबाट यस प्रकारका गतिविधि हुनु अत्यन्तै दुःखद र आपत्तिजनक विषय हो, जसले स्थानीय सरकारप्रति आम नागरिकको विश्वास डगमगाएको छ । यस्ता गम्भीर प्रकरणमा हालसम्म सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान प्रक्रिया अघि बढ्न बाँकी रहेको बताए ।
यस सम्बन्धमा गाउँ पालिका अध्यक्ष सउदसंग किर्ते सिफारिस र बैठक बारे कुरा गर्दा कुनै सत्यता नरहेको बताए । साथै प्रमुख प्रशासकिय अधिकृत पाललाई अगाडी आएर कुरा गर्न चुनौती दिए ।