रौतहट, १९ माघ । रौतहट निर्वाचन क्षेत्र नम्वर ४ को गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार रामजी साहद्वारा घरदैलो अभियानलाई तिव्र एवं प्रभावशाली बनाएको छ ।
गरुडा नगरपालिका–८ मा चुनावी सरगर्मी चुलिँदै जाँदा नेकपा एमालेका लोकप्रिय उम्मेदवार साहले घर–दैलो अभियानलाई व्यापक र प्रभावशाली बनाउँदै अघि बढिहेको हो ।
बिर्ताका विभिन्न टोल, गल्ली, चोक र बस्तीमा पुगेका साहलाई स्थानीयवासीले उत्साहपूर्ण सहभागिता, खुला समर्थन र सामूहिक उपस्थिति सहित स्वागत गरे, जसले गरुडाको राजनीतिक वातावरणमा नयाँ ऊर्जा थपिएको देखिन्छ ।
अभियानमा सहभागी एमाले रौतहटका सचिव बाबुराम दाहालका अनुसार, प्रत्येक टोलमा सूर्य चिन्ह सहित निस्किएका युवा, महिला र वृद्धसम्मले साहलाई ‘विश्वासिलो र विकासमुखी नेता’का रूपमा प्रस्तुत गरिरहेका छन् । “यो सत्ता–विरोधी लहर होइन, विकास–समर्थक जनलहर हो,” दाहालले भने, “मतदाताको विश्वासले हामीलाई जित भन्दा ठूलो विकासीय जिम्मेवारी बोध गराएको छ ।”
घर–दैलोका क्रममा साहले वडा–स्तरका चुनौती, पूर्वाधार विकास, सुशासन, सेवा–सुविधा र स्थानीय आर्थिक सक्रियताबारे मतदाता सँग प्रत्यक्ष संवाद गरेका छन् । एमाले नेतृत्वको अघिल्लो कार्यकालमा भएको विकासलाई स्मरण गर्दै उनले गरुडा–८ ले पाएको परिवर्तन संयोग नभई योजनाबद्ध प्रयासको परिणाम भएको र त्यसलाई निरन्तरता दिन जनता तयार भइसकेको दाबी गरे ।
विशेष रूपमा श्रीराम सुगर मिल पुनःसञ्चालन विषयलाई प्राथमिकतामा राख्दै साहले लामो समयदेखि मिल बन्द हुँदा श्रमिक, किसान र व्यापारी माथि परेको असरप्रति गम्भीरता व्यक्त गरे । उनले आफ्नो जितसँगै मिल सञ्चालनका लागि “पहिलो दिनदेखि नै पहल सुरु गर्ने” दृढ प्रतिबद्धता जनाए ।
स्थानीय बासिन्दाले सडक विस्तार, खानेपानी, कृषि–सिंचाइ, युवाका रोजगारी अवसर र स्वास्थ्य सेवामा सुधारका माग राखेका छन् । साहले ती सबैलाई योजनाबद्ध रूपमा कार्यसूचीमा समेट्ने आश्वासन दिए ।
घर–दैलो अभियानमा सहभागी युवाहरू ‘सूर्य अघि बढ्यो भने विकास अघि बढ्छ’ भन्ने नारा सहित प्रचारलाई जनसहभागी बनाइरहेका छन् । वृद्धवृद्धाले समेत विगतमा देखिएको सुधार स्मरण गर्दै यसपटक पनि विकासको बाटो सूर्य चिन्हबाटै अघि बढ्ने विश्वास व्यक्त गरे ।
देखिएको जनउत्साह, प्रत्यक्ष समर्थन र उम्मेदवारको सक्रियताले चुनाव नजिकिँदै जाँदा गरुडा–८ मा एमालेको प्रभावशाली उपस्थिति झनै सुदृढ हुँदै गएको संकेत मिलेको छ ।