गरुडा (रौतहट), २० माघ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल थप रोचक बन्दै तातिन थालेका छन् ।
नेकपा एमालेका युवा उम्मेदवार रामजी साहले मंगलबार गरुडा नगरपालिका–३ मा घरदैलो कार्यक्रम तथा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी प्रतिबद्धता र विकासका स्पष्ट एजेन्डा सार्वजनिक गरेका हुन् ।
स्थानीय बस्ती–टोलमा पुगेर मतदातासँग संवाद गरेका साहले यस क्षेत्रको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गर्दै दीर्घकालीन समाधान सहितका कार्यक्रमको खाका प्रस्तुत गरे । उनले शिक्षा क्षेत्रलाई विकासको मूल आधारको रूपमा व्याख्या गर्दै रौतहट अझै पनि शैक्षिक रूपमा पछि परेको उल्लेख गरे ।
विद्यालयको भौतिक संरचना कमजोर, गुणस्तरीय शिक्षाको अभाव, दक्ष शिक्षकको कमी र विद्यार्थीहरूका लागि भविष्य–उन्मुख अवसर नहुँनु जिल्लाको गम्भीर समस्या भएको उनको भनाइ थियो । आफू निर्वाचित भएमा प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सरकारी विद्यालय सुधार, छात्रवृत्ति कार्यक्रम र शैक्षिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने शाहले स्पष्ट पारे ।
“रौतहटका बालबालिकाले गुणस्तरीय शिक्षा पाए मात्र जिल्लाको समुन्नतिको ढोका खुल्छ,” उनले भने । साहले क्षेत्रीय असमानता माथि पनि कडा आवाज उठाए । अधिकांश उम्मेदवारहरू चन्द्रपुर नगरपालिका केन्द्रित हुँदा तल्लो भेगका बस्तीहरू वर्षौंदेखि उपेक्षित भएको उनले बताए । तल्लो भेगको कमजोर प्रतिनिधित्वकै कारण विकास अवरुद्ध भएको भन्दै उनले त्यहाँका मतदातालाई एकजुट हुन आह्वान गरे ।
“यो क्षेत्रको आवाज बलियो बनाउन नयाँ पुस्ताको प्रतिनिधि आवश्यक छ,” उनले भने, “तपाईंहरूको साथ पाए तल्लो भेगका मुद्दाहरू पहिलोपटक शक्तिका केन्द्रसम्म पु¥याउनेछु ।”
आफू युवा, ऊर्जाशील र विकासमुखी उम्मेदवार भएको दाबी गर्दै शाहले पार्टीभन्दा माथि उठेर काम गर्ने राजनीतिक चरित्र आजको आवश्यकता भएको उल्लेख गरे । पारदर्शिता, जवाफदेहिता र जनतासँग निरन्तर संवाद आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।
सडक, स्वास्थ्य, कृषि, रोजगारी र खानेपानीजस्ता जनजीवीकासँग प्रत्यक्ष जोडिएका मुद्दाहरूलाई राष्ट्रिय एजेन्डाका रूपमा उठाउने र आवश्यक योजनाका लागि केन्द्र सरकारसँग दबाब सिर्जना गर्ने उनले प्रतिबद्धता जनाए ।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताले आफ्ना समस्या खुलस्त रुपमा राखे । वर्षौंदेखिको उपेक्षाबाट आजिज भएका जनताले अब व्यवहारिक र सक्षम नेतृत्व खोजिरहेको उनीहरूको भनाइ छ । “मत माग्न मात्र होइन, तपाईंहरूको समस्या सुन्न आएको हुँ,” साहले मतदातालाई आश्वस्त पार्दै भने, “चुनावपछि पनि जनतासँगको सम्बन्ध निरन्तर रहनेछ ।”
साहको चुनावी अभियान क्रमशः विस्तार हुँदै गएको छ । आगामी दिनमा क्षेत्रका सबै पालिकामा पुगेर प्रत्यक्ष संवाद गर्ने योजना रहेको उनका टीमले जनाए । निर्वाचन नजिकिँदै जाँदा उनको सक्रियता, स्पष्ट एजेन्डा र सशक्त प्रस्तुतीले मतदातामाझ सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ ।