प्रेमचन्द्र झा
रौतहट, २२ माघ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ लामो समय देखि उही अनुहार, उही राजनीतिक शैली र उही शक्ति संरचनाको घेराभित्र सीमित रहँदै आएको क्षेत्रका रूपमा चिनिन्छ ।
यहाँ राजनीति विकास, सुशासन र जनजीवनका सवालभन्दा बढी पहुँच, प्रभाव र परिवारवादमै अड्किएको गुनासो आम नागरिकबाट बारम्बार सुनिँदै आएको छ ।
यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल ‘धीरज’ को उम्मेदवारीलाई धेरैले केवल चुनावी प्रतिस्पर्धा होइन, स्थापित राजनीतिक संस्कार विरुद्धको खुला चुनौती का रूपमा हेर्न थालेका छन् ।
धीरज पटेलको राजनीतिक यात्रा आकस्मिक होइनन । उनी स्वयंका अनुसार उनको राजनीतिक चेतनाको सुरुवात कक्षा ४ मै भएको हो । २०४६ सालको परिवर्तनकालमा अखिल (क्रान्तिकारी) को इकाइ अध्यक्ष बनेपछि उनले संगठित राजनीतिमा पाइला टेकेका थिए । २०५३ सालमा नेकपा माओवादी को सदस्यता लिएसँगै उनी सक्रिय राजनीतिमा होमिए—त्यो समय जब नेपाली समाज वर्गीय विभाजन, उत्पीडन र असन्तोषले उम्लिरहेको थियो ।
माओवादी आन्दोलनले मजदुर, किसान, दलित, जनजाति र उत्पीडित समुदायको आवाज बोकेको दाबी गर्दै राज्यसत्ताका असमान संरचना भत्काउने सपना देखाएको थियो । धीरज पनि यही सपना सहित आन्दोलनमा सहभागी भए उनका शब्दमा, १७ हजारभन्दा बढीको बलिदान सत्ता परिवर्तनका लागि मात्र होइन, समाज रूपान्तरणका लागि भएका थियो ।
तर शान्ति प्रक्रियापछि परिस्थिति बदलियो । संविधान बन्यो, चुनाव भए, नेतृत्व सत्तामा पुग्यो—तर जनतासामु देखाइएका सपना व्यवहारमा नउतरेको धीरजको ठम्याइ छ । शोषित, पीडित, मधेसी, दलित र जनजातिका अधिकार कागजमै सीमित भए । नेतृत्व तह परिवारवाद, शक्ति केन्द्रित राजनीति र व्यक्तिगत स्वार्थमा फस्यो । यही निराशा र आक्रोशले उनलाई पुरानो धार छाडेर नयाँ राजनीतिक विकल्प खोज्न प्रेरित गर्यो, जसको परिणाम आज रौतहट–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी हो ।
रौतहट–३ का समस्याबारे धीरज ठूला सपना होइन, जनजीवनसँग जोडिएका आधारभूत सवाल उठाउँछन् । उनका अनुसार शिक्षा र स्वास्थ्य दुवै क्षेत्र दयनीय अवस्थामा छन् । सरकारी विद्यालयको गुणस्तर कमजोर छ, स्वास्थ्य संस्थामा सेवा र जनशक्ति अभाव छ, र सामान्य उपचारका लागि पनि सर्वसाधारण निजी अस्पताल धाउन बाध्य छन् । स्थानीय तहमा व्यापक भ्रष्टाचार मौलाएको उनको आरोप छ ।
संघीयता लागू भएपछि स्थानीय सरकारलाई ‘सिंहदरबार’ भनियो, तर धीरजको बुझाइमा आज धेरै स्थानीय सरकार ‘भ्रष्टाचार दरबार’ मा परिणत भएका छन् । बजेट दुरुपयोग, योजनामा अनियमितता र पहुँचवालामुखी संरचनाले संघीयताको मर्म नै कमजोर बनाएको उनको दाबी छ ।
विशेषगरी मौलापुर नगरपालिकाको उदाहरण दिँदै उनले नगर प्रमुख माथि गम्भीर आरोप लगाए । उनका अनुसार करोडौं रुपैयाँ भ्रष्टाचार गरेर देशका विभिन्न स्थानमा महल खडा गरेका छन् । यी आरोप स्थानीय तहमा लामो समयदेखि संचित असन्तोषको प्रतिबिम्ब भएको उनका समर्थकहरूको तर्क छ ।
यदि आफू निर्वाचित भए भ्रष्टाचारविरुद्ध कठोर संघर्ष पहिलो प्राथमिकता हुने धीरजको स्पष्ट भनाइ छ । शिक्षा, स्वास्थ्य, कृषि वा रोजगारी—कुनै पनि क्षेत्रमा सार्वजनिक स्रोत सही ठाउँमा नपुगेसम्म विकास सम्भव नहुने उनको ठहर छ । त्यसैले पारदर्शिता, जवाफदेहिता र कडा अनुगमन उनका मुख्य एजेन्डा हुन् ।
कृषि प्रधान क्षेत्र भएकाले किसानका समस्या पनि उनले प्राथमिकतामा राखेका छन् । मल, बीउ, सिँचाइ, बजार र मूल्यको समस्याले किसान थिचिएको अवस्थामा छन्, तर नेतृत्वले किसानलाई चुनावी भोट बैंकका रूपमा मात्र प्रयोग गरेको उनको आरोप छ । किसानको उत्पादनको उचित मूल्य र बजार पहुँच सुनिश्चित नगरी समृद्धि असम्भव हुने उनको धारणा छ ।
छुवाछुत, बोक्सीको आरोप जस्ता सामाजिक विकृति विरुद्ध कडा कानुन र सामाजिक सचेतनाको आवश्यकता रहेको उनी बताउँछन् । उनका अनुसार राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन, सामाजिक सोच परिवर्तन नभएसम्म लोकतन्त्र अधुरो रहन्छ ।
रौतहट–३ का प्रभावशाली राजनीतिज्ञ आम जनता पार्टीका अध्यक्ष प्रभु साहप्रति धीरज र राष्ट्रिय स्वतन्त्र पार्टी आक्रामक देखिन्छन् । उनीहरूका अनुसार साह विकासको नायक होइन, परिवारवाद र शक्ति दुरुपयोगको प्रतीक हुन् । पटक–पटक चुनाव जिते पनि क्षेत्रको वास्तविक विकास नभएको आरोप उनीहरूले लगाएका छन् ।
आफ्नो जीवनमा भोगेका अन्याय, हेपाइ र आरोपहरू स्मरण गर्दै धीरज यसपटक अन्तिम निर्णय जनताको हातमा भएको बताउँछन् । उनले स्पष्ट सन्देश दिएका छन—यदि राष्ट्रिय स्वतन्त्र पार्टीले काम गर्न सकेन भने आगामी चुनावमा भोट नदिनुस् । यस्तो खुला जवाफदेहिता नेपाली राजनीतिमा दुर्लभ मानिन्छ, र यही कारण धेरै युवाहरू उनीतर्फ आकर्षित भएका छन् ।
अन्ततः रौतहट–३ को चुनाव पुरानो राजनीतिक संस्कार र नयाँ विकल्प बीचको संघर्ष बनेको छ । रविन्द्र पटेल ‘धीरज’ को उम्मेदवारीले स्थापित शक्तिलाई चुनौती दिएको छ र जनतामा आशा, अपेक्षा र तीव्र बहसलाई जन्माएको छ ।