फाइल तस्वीर
सर्लाही, २५ माघ । सर्लाही जिल्लाको भारतसँग जोडिएका विभिन्न सीमावर्ती नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक साँठगाँठमा बेरोकटोक तस्करी निर्वाध रूपमा सञ्चालन भइरहेका छन् ।
जिल्ला देखि लिएर स्थानीय सीमा प्रहरी चौकी तथा सशस्त्र प्रहरीका बीओपीहरूकै मिलेमतोमा ठूलो परिमाणमा राजस्व छलेर अवैध कारोबार भइरहेको स्थानीय स्रोतको दाबी गरेका हुन् ।
खास गरी सग्राम्पुर, सखुअवा, त्रिभुवननगर, गोरखकाली, पर्सा, मधुबनी गोठ, अर्नाहा, हिरापुर ब्यारेज लगायतका स्थानमा रहेका सुरक्षाकर्मीहरुको मिलोमतोमा नाकाबाट नेपालबाट भारततर्फ मदिरा, फर्सीको बीउ, सुपाडी, मरिच, स्याउ, अखरोट, काजु, मकै जस्ता सामान तस्करी हुने गरेको छ भने भारतबाट नेपालतर्फ कपडा, सुर्ती, खाद्यान्न, चिनी, किराना सामग्री, मोबाइल, रासायनिक मल, प्रतिबन्धित कुखुरा र चल्ला, स्पेयर पार्टस तथा पशु चौपाया ठूलो परिमाणमा भित्रर्याइँदै आएको छ ।
स्थानीयका अनुसार तस्करी राति, बिहान र दिउँसो समेत खुलेआम भइरहेको छ । सबै नाकाबाट तस्करी चलिरहेकै बेला त्रिभुवननगर नाकाबाट प्रहरीले नै कारोवारीलाई स्कटिङ गरेर सहयोग गरिरहेको गम्भीर दाबी स्रोतले गरेको छ ।
स्रोतका अनुसार त्रिभुवननगरमा कार्यरत सई परमानन्द यादव ले दर्जनौँ व्यापारीलाई “लाइन” दिएर अवैध कारोबारलाई संरक्षण दिदै आएको आरोप छ ।
तस्करी कार्यमा संलग्न कारोवारीहरु राजा दास किराना, जितेन्द्र साह हार्डवेयर, श्याम हार्डवेयर, पवन साह बाइक पार्टस, हसन कपडा, उर्मिला साह श्रृंगार सामग्री, तीन बहिनी किराना, दीपकको आमा किराना, ललिता दनुवार किराना, दुलारी साह किराना, राजगिर गुप्ता बाइक पार्टस, गौरी यादव हार्डवेयर, मुसलीवाली, काली, गैरवाली, प्रिती साह किराना, सन्तोष भण्डारी (स्याउ, अखरोट, लसुन, फर्सीको बीउ), विजय लगायत तीन दर्जनभन्दा बढी कारोवाहरु अबैध कार्यलाई संचालन गर्दै आएको श्रोतको दाबी गरे ।
यसरी सुरक्षाकर्मीहरूको संरक्षणमै तस्करी बढ्दा राजस्वमा ठूलो क्षति पुगेको र सीमावर्ती क्षेत्रको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीयहरु सम्बन्धित निकाय, गृह मन्त्रालय र केन्द्रीय सुरक्षा निकायसँग उच्चस्तरीय छानबिन र कडा कारबाहीको माग उठाएका छन् ।