रौतहट, २५ माघ । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर गाउँ बस्ने किसन कुमार रायकी २५ बर्षीया श्रीमती नेहा, निशा, पुनम कुमारी भन्ने निर्मला महतोलाई रौतहट प्रहरीले पक्राउ गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार महिलाले विभिन्न व्यक्तिलाई आफू सिआईबी को असई भएको, भन्सार तथा प्रशासनमा राम्रो पहुँच भएको झुटो दाबी गरेर आपराधिक विश्वासघात र आपराधिक लाभ गरेको पाइएको छ ।
ठगीको जालो
पीडित जाहेरवाला सर्लाही लालबन्दी निवासी राजेश्वर साहसँग करिब एक वर्षअघि नवलपुर बजारमा चिनजान भएका थिए । महिलाले सस्तोमा भन्सारबाट स्कारपियो गाडी निकालिदिने प्रलोभन दिएकी थिइन् । कर कम लाग्ने भन्दै पुनम कुमारीको सक्कल नागरिकता र फोटो लिई पटक–पटक गरेर १ लाख ५० हजार ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
उक्त नागरिकता र फोटो प्रयोग गरी प्रतिवादी महिलाले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट राष्ट्रिय परिचयपत्र बनाएको र माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा पुनम कुमारीको नाममा बैंक खाता समेत खोल्न सफल भएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
लाखौँको सुन, नगद र चेक ठगी
आफू सिआईबीको असई हुँ भन्दै प्रतिवादीले चन्द्रपुरका सन्तोष बहादुर विश्वकर्मा को ज्वेलर्सबाट २ लाख ७४ हजारको सुनचाँदी, गुजरा निवासी बिजय साह बनियाँ बाट घरायसी समस्या देखाई पाँच लाख नगद, चन्द्रपुरका प्रविण साहको किराना पसलबाट उधारो सामान तथा स्कारपियो गाडी भाडामा लिएर. १ लाख २६ हजार बराबरको रकम ठगी गरेको आरोप छ ।
पीडितहरूलाई प्रतिवादी महिलाले आफू पहिचान लुकाएर खोलेका बैंक खातामा पर्याप्त मौज्दात नभएको भन्दै चेक काटेर दिई ठगी गरेको प्रहरीको भनाइ छ ।
पक्राउ र प्रहरीको अनुसन्धान
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माघ ४ गते दिउँसो ४ बजेको समयमा चन्द्रपुर नगरपालिका–६ बाट महिलालाई पक्राउ गरेर गहन अनुसन्धान गरियो । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।