रौतहट, १ फागुन । लुकीछिपी रुपमा गौर करदाता सेवा कार्यालयबाट सामानहरु ट्रकमा लोड गरेर लैजान खोज्दा स्थानीय व्यापारीहरु अबरोध खडा गरेपछि पनुः सामानहरु अनलोड गरिएका छन् ।
आक्रोशित बनेका व्यापारीहरु अहिले गौर बजार बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालयको आफनै भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरा तर्फ लैजान खोज्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरु बाटोमा बसेर अबरोध खडा गरेपछि उक्त सामानहरु पुनः अनलोड भई उक्त कार्यालयमा राखिएको छ ।
व्यापारीहरु बाटोमा बसेर अवरोध सृजना गर्दा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु उपस्थित भएपनि ट्रकमा लोड भएका सामानहरु पुनः कार्यालयमा राखिएको बताउदै रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले मुलुक निर्वाचनमय बनिरहेको समयमा कार्यालयको सामानहरु चोर शैलीमा लगिरहदा बाध्य भएर बाटोमा बस्नु परेको गुनासो गरे ।
जेनजी पुस्ताका नेता विक्रम यादव सहितका स्थानीय युवाहरु समेत उक्त ट्रकको अगाडी बसेर अवरोध खडा गरेपछि व्यापारीहरु आएर प्रतिक्रिया जनाउदै बजार बन्द गर्ने कुराहरु उठाएपछि हतार हतारमा ट्रकलाई खाली गराइयो ।
नेपाली काँग्रेसका युवा नेता नितेशकुमार गुप्ताले यसरी चोर शैलीमा कार्यालय सार्न सरकारको नियत माथि गम्भीर प्रश्न चिन्ह खडा गर्दै अविलम्ब गौरमा करदाता सेवा कार्यालय पूर्ण रुपमा आफनै भवनबाट संचालन हुनुपर्ने नेपाली काँग्रेसको अडान रहेको बताए ।
धर्नास्थलमा पुगेका एमाले नेता एवं उम्मेदवार अजयकुमार गुप्ता, नेपाली कम्युनिष्ष्ट पार्टीका नेता रेबन्त झा र रास्वपा उम्मेदवार राजेश चौधरीले निर्वाचनको मुखमा कार्यालय उठाएर निर्वाचन भाँड्न खोजेको गम्भीर आरोप लगाउदै सरकारले नै निर्वाचन नचाहेको आक्रोश व्यक्त गरे । यहाँका व्यापारीहरुलाई सहज एवं सर्वसुलभ ढंगबाट सेवा प्रदान गर्नुपर्नेमा अन्य स्थानका कार्यालय नउठाई गौरबाट कार्यालय सार्ने कार्य एकदमै अशोभनिय र मधेश विरोधी भएको उनीहरुले जिकिर गरे ।
यसैगरी, विगतमा प्रमुख जिल्ला अधिकारी संग भएको सहमती विपरित करदाता सेवा कार्यालयबाट चोर शैलीमा सामानहरु लैजान खोजेका विरुद्ध रौतहट उद्योग वाणिज्य संघले बजार बन्द गराएका छन् । आक्रोशित व्यापारीहरुले बजार बन्द गराएर घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
राज्यले यहाँका व्यापारी माथि विभेदपूर्ण निती अपनाएकोमा आक्रोश व्यक्त गर्दै समस्या समाधान नभएसम्म बजार बन्द रहने महासचिव सन्तोष केसरीले चेतावनी दिए ।