प्रेमचन्द्र झा
रौतहट, २ फागुन । रौतहट निर्वाचन क्षेत्र ३ मा एमाललेलाई झट्का लागेको छ, दिग्गज नेताद्वारा पार्टी परित्याग गरेर जसपा नेपालमा प्रवेश संगै नयाँ शक्ति सन्तुलनको खेल सरु भएका छन् ।
गुजरा नगरपालिकाको नगरप्रमुखको प्रत्याशी राजेश्वरी बण्ठाले एमाले परित्याग गर्दै जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेपछि रौतहट क्षेत्र नं. ३ को राजनीतिक समीकरण बदलिने संकेत देखिएका हुन् ।
बण्ठालाई पुजा चौधरी, गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरी तथा सांसद उम्मेदवार गोविन्द चौधरीले संयुक्त रूपमा स्वागत गरे । नेताहरूले उनको आगमनले क्षेत्रमा जसपा नेपालको आधार थप मजबुत हुने दाबी गरे ।
६९ वर्षको उमेरमा पनि सक्रिय राजनीतिमा रहेका गोविन्द चौधरीका लागि यो सम्भावित अन्तिम निर्वाचन हुनसक्ने चर्चा चलिरहेको छ । विक्रम सम्बत २०४८ को आम निर्वाचन र वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा निर्वाचित भइसकेका अनुभवी नेता चौधरीको विभिन्न जातीय समुदायमा बलियो पकड रहेको राजनीतिक रुपमा विश्लेषण गरिएको छ । विशेष गरी थारु समुदाय एकजुट हुँदै गएको संकेतबाट जसपा नेपाललाई थप बलियो आधार दिन सक्ने आँकलन गरिएको छ ।
यसैबीच, क्षेत्र नम्वर ३ मा पटक–पटक निर्वाचित हुँदै आएका प्रभु साहप्रति भने पछिल्लो समय असन्तुष्टि बढ्दै गएको चर्चा छ । जनभावना अनुसार काम नगरेको, परिवारवादमा लिप्त भएको तथा भ्रष्टाचारमा संलग्न रहेको आरोप लाग्दै आएका छन् ।
यद्यपि यी आरोपबारे साह पक्षबाट आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । बढ्दो असन्तुष्टिले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरण बन्ने संकेत दिएको छ ।
बण्ठाको जसपा नेपाल प्रवेशलाई एमालेका लागि ठूलो झट्का मानिएको छ । गुजरा नगरपालिका मात्र होइन, समग्र क्षेत्र नं. ३ मा शक्ति सन्तुलन फेरिने विश्लेषण सुरु भएको छ ।
युवा नेतृत्वको माग चुलिएको वर्तमान अवस्थामा अनुभव र संगठनात्मक पकडलाई मतदाताले प्राथमिकता दिने कि परिवर्तनको एजेन्डा रोज्ने—यो प्रश्न अब निर्वाचनमै छिनोफानो हुने देखिन्छ ।