रौतहट, ४ फागुन । नेपाली कांग्रेस का सभापति गगनकुमार थापाले सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधार बनाउने घोषणा गर्दै आगामी पाँच वर्षभित्र नेपाललाई डिजिटल सेवा केन्द्रका रूपमा स्थापित गर्ने कार्ययोजनाका साथ चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
भिडियो सन्देश मार्फत प्रस्तुत अवधारणामा सीमित नीतिगत सुधार, संस्थागत समन्वय र लक्षित पूर्वाधार विस्तारमार्फत उल्लेखनीय आर्थिक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका हुन् ।
थापाका अनुसार उक्त अवधिमा करिब चार खर्ब रुपैयाँ बराबरको आइटी सेवा निर्यात गर्न सकिने र दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना सम्भव हुने प्रक्षेपण गरे ।
‘२०२४–२०३४ः आइटी दशक’ अवधारणा
सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आइटी दशक’ का रूपमा अघि बढाउने प्रस्ताव राख्दै प्रारम्भिक पाँच वर्षमै निर्यात लक्ष्य हासिल गर्न सकिने दाबी गरे ।
प्रस्तावित मार्ग चित्र अनुसारः
कम्तीमा २०० स्वदेशी आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने ।
३ देखि ५ कम्पनीलाई पूँजी बजारमा सूचीकृत गराउने ।
उच्च मूल्य अभिवृद्धि हुने डिजिटल सेवा निर्यात बढाउने ।
युवालाई लक्षित गर्दै प्रविधिमैत्री रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
कीर्तिपुरमा आयोजित एक कार्यक्रममा “ल्यापटप मार्फत उच्च आम्दानी सम्भव” भन्ने अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भए पनि थापाले उक्त धारणा योजनाबद्ध नीतिगत सोचसँग जोडिएको स्पष्ट पारेका छन् । उनका अनुसार अघिल्लो सरकारको कार्यकालमा अध्यादेश मार्फत गरिएका सीमित सुधारले सकारात्मक संकेत देखाएको थियो, तर दीर्घकालीन उपलब्धिका लागि थप संरचनात्मक र नीतिगत परिमार्जन आवश्यक रहेको प्रष्ट पारे ।
के आवश्यक छ ?
प्रस्तावित अवधारणा कार्यान्वयनका लागिः
संघीय, प्रादेशिक र निजी क्षेत्रबीच प्रभावकारी समन्वय ।
नियामकीय सुधार र सहज कर नीति ।
डिजिटल पूर्वाधार विस्तार ।
सीप अभिवृद्धि तथा तालिम कार्यक्रम ।
स्टार्टअप तथा नवप्रवर्तनमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।
राजनीतिक वृत्तमा यस अवधारणालाई आर्थिक एजेन्डा केन्द्रित नयाँ बहसका रूपमा हेरिएको छ । सूचना प्रविधि क्षेत्रलाई मुख्य निर्यात उद्योग बनाउने लक्ष्य व्यवहारमा कत्तिको रूपान्तरित हुन्छ भन्ने विषय अब कार्यान्वयन क्षमतामा निर्भर रहने देखिन्छ ।