रौतहट, ८ फागुन । रौतहटको गौर नगरपालिकाको सबगढामा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समुदायबाट अबरोध खडा गरेर ढुंगा हानाहान हुँदा दर्जनौं मानिसहरु घाइते भएका छन् ।
गौर नगरपालिका–६ सवगढा बस्ने सत्य नारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडी बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो । विवाद चर्किँदै जाँदा दुवै पक्षबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
गएराति भएको झड्पमा ६ जना घाइते भएकाहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाए । सबै जनाको अवस्था सामान्य रहेको जनाइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा सशस्त्र प्रहरीको टोली खटिई स्थिति नियन्त्रणमा लिएको बताइएको छ ।
सोही विषयलाई लिएर पुनः आज विहान ९ः१५ बजेको समयमा करिब ४०० देखि ५०० जनाको भीड जम्मा भई झडप सुरु भए । स्थिति नियन्त्रण बाहिर जाने थालेपछि प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी श्रोतबाट बुझिएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड ब्ल्याङ्क फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताए ।
सोही क्रममा स्थानीयहरु संगै २ जना प्रहरी समेत घाइते भए । घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि केहीलाई डिस्चार्ज गरिएको उनले भने ।
वार्ता साकारात्मक भएर ६ बुंदे सहमती
घटनापछि जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालको प्रमुख उपस्थितिमा आज दिउँसो ३ बजे देखि दुवै पक्षका प्रतिनिधिलाई बोलाई वार्ता सुरु गरिएको छ । प्रशासनले सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन अपिल गरे । हिन्दु पक्ष र मुस्लिम पक्ष बीच सौहादपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको छ । दुबै पक्ष बीच ६ बुंदे सहमती भएको र आउदो २१ गते हुने निर्वाचनमा सबैको सहभागीता सुनिश्चित गराउने खालको वातावरण सृजना गर्ने समेत प्रतिबद्धतालाई दोहोर्याइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।