रौतहट, १४ फागुन । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्त, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन र आमसञ्चार विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गौरमा सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटद्वारा जिल्ला प्रशासन कार्यालय गौरको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल सहित सुरक्षा निकायका प्रमुखहरू र जिल्लाका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
“स्वच्छ र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव” भन्ने मूलमन्त्रका साथ यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित र पारदर्शी ढंगले सम्पन्न गर्न सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जोड दिए ।
उनले निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने हरेक प्रकारका सुरक्षा चुनौतीको सामना गर्न प्रशासन पूर्ण तयारी अवस्थामा रहेको जानकारी गराउँदै करिब १० हजारभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिने स्पष्ट पारे ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा सञ्चारमाध्यमले पालन गर्नुपर्ने कानुनी प्रावधानबारे विस्तृत जानकारी गराए ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले आचार संहिता उलंघन सम्बन्धी प्रकाश पारे ।
प्रमुख जिल्ला अधिकारी भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण दल गणका कर्णेल विश्वास विष्ट, एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, कोष तथा लेखा नियन्त्रण कार्यालय गौरका प्रमुख देवी गौतम, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष संजय कार्की लगायत सञ्चारकर्मी र निर्वाचन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निष्पक्ष सूचना प्रवाह, अफवाह नियन्त्रण तथा आचारसंहिता पालनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचनलाई सफल बनाउन प्रशासन र सञ्चार क्षेत्रबीचको समन्वयलाई अझ सुदृढ बनाउने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाए ।