तस्वीर सौजन्यः साई राम
रौतहट, २ चैत । रौतहट र सर्लाहीलाई जोड्ने महत्वपूर्ण गंगापिपरा–खैरवा जोड्ने बागमती नदीमा पुल निर्माण कार्य करिब एक दशक बित्दा पनि सम्पन्न हुन सकेको छैनन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा तथा सर्लाहीको रामनगर गाउँपालिकाको खैरवालाई जोड्ने वागमती नदीमा बर्षौ देखि निर्माणाधिन पुल अधुरै छाडेर निर्माण कम्पनी फरार भएपछि दैनिक हजारौ स्थानीयवासीहरु जोखिमपूर्ण रूपमा नदी वार पार गर्न बाध्य भएका हुन् ।
२०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँ लागतमा टुडी–रसुवा–पप्पु जेभी कम्पनीसँग ठेक्का सम्झौता गरी पुल निर्माण कार्य सुरु गरिएको थियो । प्रारम्भिक लक्ष्य अनुसार केही वर्षमै सम्पन्न हुनुपर्ने यो आयोजना विभिन्न कारण देखाउँदै पटक–पटक म्याद थपिदै आएको बताइन्छ ।
पछिल्लो पटक तोकिएको समयसीमा अनुसार २०८३ कात्तिक १३ गतेसम्म काम सक्ने लक्ष्य राखिएको भएपनि विगत दुई बर्ष देखि निर्माण कम्पनीले कुनै काम गरिएको छैनन् ।
स्थानीयका अनुसार पुल निर्माणमा भएका ढिलाइको विषय विगतका दिनमा हुने गरेका चुनावमा मुख्य मुद्दा बन्ने गरे पनि निर्वाचन सकिएपछि भने उक्त विषय ओझेलमा पर्ने गरेको छ ।
तर यसपाली सर्लाही क्षेत्र नम्बर–४ र रौतहट क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनका बेला पुल निर्माणलाई साझा चुनावी एजेन्डा बनाएका थिए । केही महिना अघि तत्कालिन भौतिक निर्माण मन्त्रीको हैसियतमा समेत रहेका कुलमान घिसिंगले अधुरा पुलको अनुगमन गरी निर्माण कम्पनीलाई यथाशिघ्र निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए तर उक्त निर्देशन पश्चात पनि निर्माण कार्य सुरु नुहुन दुखद रहेको स्थानीयले दुखेसो पोखे ।
सर्लाही–४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले चुनावी प्रचारका क्रममा पुल निर्माण तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए । यसअघि २०७४ र २०७९ का निर्वाचनमा समेत उनले यही प्रतिबद्धता दोहोर्याएका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि चुनाव जिते वा हारे पनि पुल निर्माणका लागि पहल गर्ने बताएका छन् । तर स्थानीयका अनुसार पुल निर्माणको कार्य सुरु कहिले होला भने ठेगान छैनन ।
निर्माणाधीन पुलमा प्रयोग भएका सामग्रीको गुणस्तरबारे पनि पटक–पटक प्रश्न उठ्दै आएको छ । २०८० सालमा आएको बाढीमा पुलको एउटा पिलर बगाएपछि उक्त समय देखि त्यसै अलपत्र अवस्थामा छाडेर निर्माण पक्षधर साइटबाट वेपत्ता रहेको स्थानीय गंगापिपराका बासिन्दा रामलाल दासले गुनासो पोखे ।
बाढीका कारण पुलको एक स्पान र एक फाउन्डेसनमा क्षति पुगेपछि निर्माण कार्य थप प्रभावित भएको थियो । ठेकेदार कम्पनीले माटो परीक्षण र डिजाइन पुनरावलोकनको कारण देखाउँदै काम छाडेको समेत उनले गम्भीर आरोप लगाए ।
करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको दाबी गरिए पनि पुल पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा दैनिक हजारौ मानिसहरु बाँसकको लच्का भएर जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।
स्थानीयवासीका अनुसार बाढीपछि पुलको अधुरा रहेका निर्माणलाई तीव्रता दिन राज्य पक्षबाट अपेक्षित पहल हुन सकेको छैनन । वर्षौंदेखि अधुरो रहेको यो पुल अहिले स्थानीयका लागि विकासको प्रतीक भन्दा बढी राजनीतिक वाचा र प्रशासनिक ढिलासुस्तीको उदाहरण बन्न पुगेको छ ।