रौतहट, ५ चैत । रौतहटको चन्द्रपुर नगरपालिका स्थित चाँदी खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खननमा संलग्न रहेको स्थानमा सशस्त्र प्रहरीले आठ वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।
बिहीबार अर्थात आज बिहान चाँदी खोलामा उत्खनन भईरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको एक टोली उक्त स्थानमा पुगेर बालुवा बोक्दै गरेका ट्रेक्टरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि चन्द्रपुर नगरपालिकालाई जिम्मा लगाएको हो ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार चाँदीखोलाबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन भईरहेको अवस्थामा कारवाही गर्न नगरपालिकाको जिम्मा लगाइएको छ । खोला भित्रै पुगेका ट्रेक्टरहरूलाई नियन्त्रणमा लिँदै प्रहरीले ‘अवैध उत्खनन रोक्ने अभियान’ सञ्चालन गरिएको जनाए ।
तर घटनाले अर्को पाटोलाई पनि उजागर गरिदिएको छ । नियन्त्रणमा लिइएका ट्रेक्टरका चालकहलले भने आफूहरूमाथि अन्याय भएको गुनासो गरे । बालुवा बोक्ने साना ट्रेक्टरलाई मात्र निशाना बनाइएको छ, जबकि ठूलो परिमाणमा ढुंगा उत्खनन गर्ने समूहलाई सुरक्षाकर्मीको संरक्षण प्राप्त रहेको गम्भीर आरोप लगाए ।
“हामी त बालुवा मात्रै बोकिरहेका थियौं, तर ठूला–ठूला ढुंगा निकाल्नेहरूलाई कसैले चुइक्क छुँदैन,” एक चालकले आक्रोश पोख्दै भने, “यो सानालाई समात्ने र ठूलालाई छोड्ने खेल हो ।”
स्थानीयवासीहरु पनि घटनाप्रति सशंकित देखिए । उनीहरूका अनुसार चाँदीखोलामा लामो समयदेखि अवैध उत्खनन हुँदै आएको भए पनि सम्बन्धित निकायले ठूला समूहहरू माथि प्रभावकारी कारबाही नगरेको आरोप लागेको छ । बेलाबेला हुने यस्ता कारबाहीहरू पनि देखावटी मात्र हुने गरेको उनीहरूको भनाइ छ ।
यता, नगरपालिकाले सशस्त्रबाट बुझिएका ट्रेक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाए । तर अवैध उत्खननको जरोमै पुगेर नियन्त्रण गरिने हो कि साना व्यवसायीलाई मात्र कारबाही गर्ने भन्ने प्रश्न उठेको छ ?
चाँदी खोलाको यो घटनाले साबित गरिदिएको छ—नदीजन्य स्रोत दोहनमा ‘ठूलाको पहुँच, सानालाई कारबाही’ भन्ने पुरानो प्रवृत्ति अझै अन्त्य हुन सकेका छैनन ।