रौतहट, ६ चैत । रौतहट जिल्लाका कार्यालय प्रमुखहरूको बैठकले सुशासन, सुरक्षा र सेवा प्रवाह सुधारका लागि १४ बुंदे निर्णय भई सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा विहिवार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै सुशासन सुरक्षा र सेवा प्रवाह सुधारमा कडाइका साथ कार्यान्वयन गर्ने गरी निर्णय गरेको हो ।
बैठकले विद्युत चोरी नियन्त्रण तथा बक्यौता असुली कार्यलाई तीव्र बनाउने निर्णय गर्दै सम्बन्धित निकायलाई स्पष्ट कार्ययोजना बनाएर अगाडि बढ्न निर्देशन दिइएको छ । ट्राफिक नियम उल्लंघनका कारण हुने दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गरिने भएको छ भने सडक सुरक्षामा कडाइ गरिने जनाए ।
बढ्दो गर्मी, हावाहुरी, चट्याङ र आगलागी जस्ता जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापनमा उच्च सतर्कता अपनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ । स्वास्थ्य निकायलाई लामखुट्टेबाट सर्ने रोग नियन्त्रणमा सक्रिय बनाउँदै आवश्यक औषधि तथा उपकरण तयारी अवस्थामा राख्न भनिएको छ ।
लागुऔषध सेवन, ओसारपसार तथा बेचबिखन नियन्त्रणका लागि स्थगित गरिएको तीन महिने अभियान पुनः सञ्चालन गरिने । विद्यालय, युवा समूह र सुरक्षा निकायको संयुक्त सहभागितामा अभियानलाई प्रभावकारी बनाइने ।
पेट्रोलियम पदार्थमा कालोबजारी, कृत्रिम अभाव र मिसावट रोक्न नियमित अनुगमन कडा बनाइने । दोषीमाथि कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ । कृषकलाई समयमै मलखाद्य उपलब्ध गराउने, सहकारी मार्फत वितरण कार्यलाई कडाइका साथ अनुगमन गर्ने तथा हाटबजारलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ । दुषित खाद्य वस्तुको बिक्री वितरण रोक्न पनि विशेष पहल गरिनेछ ।
त्यसैगरी, ढुंगा, गिटी, बालुवा उत्खननलाई कानुनी प्रक्रिया र वातावरणीय अध्ययन अनुसार मात्र सञ्चालन गरिनेछ । वन फडानी, डढेलो तथा चोरी निकासी नियन्त्रणका लागि वन कार्यालयलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।
नागरिक नागरिक बीच धार्मिक, जातीय तथा भौगोलिक विभाजन ल्याउने गतिविधि माथि कडा निगरानी राखिने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन गुनासो व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसालले बताए ।
वन्य जन्तुबाट कृषकको बालीमा भएको क्षति नियन्त्रण गर्न तथा पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायबीच समन्वय गरिनेछ । यस्तै, राष्ट्रिय आर्थिक गणना २०८२ सफल बनाउन सबै निकायलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ भने यही चैत्र १९ गतेदेखि सञ्चालन हुने एसइइ परीक्षालाई शान्त, व्यवस्थित र मर्यादित बनाउन विशेष ध्यान दिइने जनाए ।
जिल्ला प्रशासन कार्यालयमा भएका निर्णयहरुलाई रौतहटमा सुशासन, सुरक्षा र विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको प्रशासन प्रमुख रामनरेश साहले बताए ।