नयाँ दिल्ली, ६ चैत । भारतमा ६ जना युक्रेनी नागरिक पक्राउ परेको घटनाले कूटनीतिक तरंग उत्पन्न गरेको छ ।
उक्त घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित छानबिन गर्न भारत सरकारसँग युक्रेनले माग गरेको हो ।
युक्रेनी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक सूचनाहरु र सञ्चार माध्यममा आएका विवरणहरूलाई आधार मान्दै यो मुद्दा योजनाबद्ध तथा राजनीतिक उद्देश्यले प्रभावित हुनसक्ने आशंका व्यक्त गरिएको छ । विशेषगरी, घटनाको सुरुवात रूसी पक्षबाट प्राप्त सूचनाबाट भएको उल्लेख गर्दै युक्रेनले यसलाई संवेदनशील रूपमा लिएको जनाएको छ ।
युक्रेनले आफूलाई आतंकवादी गतिविधि सँग जोड्ने कुनै पनि आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै यस्तो आरोप निराधार रहेको स्पष्ट पारेको छ । उसले आफू निरन्तर रूसी आक्रमणको सामना गरिरहेको देश भएको उल्लेख गर्दै आतंकवाद विरुद्ध दृढ र अडिग अडान लिएको बताए ।
युक्रेन र भारतबीच आतंकवाद विरुद्धको साझा प्रतिबद्धता रहेको उल्लेख गर्दै दूतावासले नरेन्द्र मोदी को २०२४ अगस्टमा भएको युक्रेन भ्रमणपछि जारी संयुक्त वक्तव्यलाई स्मरण गराएको छ, जहाँ दुवै देशले आतंकवादको कडा शब्दमा निन्दा गरेका थिए ।
दूतावासले कुनै पनि आरोप प्रमाणित तथ्य, पारदर्शी प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनको आधारमा मात्र मूल्यांकन गरिनुपर्नेमा जोड दिए । साथै, अनुसन्धानमा निष्पक्षता, वस्तुनिष्ठता र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
यसैबीच, युक्रेनले भारतीय निकायसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाए । आपराधिक विषयमा पारस्परिक कानुनी सहयोग सम्बन्धी द्विपक्षीय संयन्त्र मार्फत सहकार्य अझ सुदृढ बनाउन सकिने पनि उल्लेख गरिएको छ ।
युक्रेनले भारतको सुरक्षामा कुनै खतरा पुर्याउने गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै बरु दुई देशबीचको सम्बन्ध मजबुत बनाउने पक्षमा रहेको जनाए । साथै, रूसले मित्र राष्ट्रहरूबीच अविश्वास सिर्जना गर्न खोजिरहेको आरोप समेत लगाइएको छ ।
दूतावासले अन्त्यमा पक्राउ परेका आफ्ना नागरिकहरू अधिकारको संरक्षण, कानुनी प्रक्रिया पालना र छानबिनको पारदर्शिता सुनिश्चित गरिने विश्वास व्यक्त गरे । यसप्रकारको घटनाले भारत–युक्रेन सम्बन्धमा नयाँ चासो र संवेदनशीलता थपेको विश्लेषण गरिएको छ ।