वाशिंगटन, १५ चैत । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन विरुद्ध अमेरिकाभरी व्यापक रुपमा विरोध प्रदर्शन चर्किएको छ ।
“नो किग्स” नाम दिइएको आन्दोलनको तेस्रो चरण अन्तर्गत लाखौं नागरिकहरु सडकमा उत्रिएर प्रदर्शनलाई चर्काएको हो ।
प्रदर्शन आयोजकहरुका अनुसार, ट्रम्प प्रशासनका नीतिहरू—इरान सँगको सम्भावित युद्ध, कडा अध्यागमन नीति र बढ्दो महँगी—विरुद्ध जनआक्रोश बढेका छन् । “यो देशमा शक्ति जनताको हो, राजा वा धनाढ्यहरूको होइन,” भन्दै प्रदर्शनकारीहरूले ट्रम्पलाई ‘तानाशाही शैली’ अपनाएको आरोप लगाए । न्युयोर्क, वाशिंगटन डीसी, लस एन्जलस लगायत प्रमुख शहरहरूमा विशाल रयालीहरू आयोजना भए । वाशिंगटन डीसीमा प्रदर्शनकारीहरूले लिंकन मेमोरियल र नेशनल मल क्षेत्र भरिभराउ बनाएका थिए ।
यस आन्दोलनका क्रममा ट्रम्पसहित उपराष्ट्रपति जेडी भान्स र अन्य अधिकारीहरूको प्रतीकात्मक पुतला राखेर उनीहरूलाई हटाउन माग गरिएको छ ।
मिनेसोटामा भएको प्रदर्शन विशेष रूपमा चर्चामा रह्यो, जहाँ संघीय अध्यागमन एजेण्टद्वारा मारिएका दुई अमेरिकी नागरिकको घटनाले आन्दोलनलाई थप तीव्र बनाएको छ । हजारौं प्रदर्शनकारीहरूले न्यायको माग गर्दै राज्य क्यापिटल वरिपरि प्रदर्शन गरेका थिए ।
यसैबीच ब्रुस स्प्रिंगस्टीनले पनि मंचबाट विरोध जनाउँदै अध्यागमन नीतिविरुद्ध गीत प्रस्तुत गरेका थिए ।
केही स्थानमा झडप समेत भएका छन् । लस एन्जलस र डलासमा प्रहरीसँग सामान्य भिडन्त हुँदा केही व्यक्तिहरू पक्राउ परेका हुन् । सुरक्षा निकायले भीड नियन्त्रणका लागि ‘गैर–घातक उपाय’ प्रयोग गरेको जनाए ।
ह्वाइट हाउसले भने यी प्रदर्शनलाई “राजनीतिक नाटक” भन्दै खारेज गरेको छ । ट्रम्प स्वयंले आफूलाई ‘राजा होइन’ भन्दै आलोचनालाई अस्वीकार गरेका छन् ।
यसअघि पनि “नो किंग्स” आन्दोलनले करिब ७० लाख मानिसलाई सडकमा उतारेको थियो । पछिल्ला प्रदर्शनहरू पनि देशभर फैलिदै गएका छन्, जसले अमेरिकी राजनीति थप तातिएको संकेत दिए ।
विदेशमा रहेका अमेरिकीहरू पनि पेरिस, लन्डन र लिस्बन लगायत शहरहरूमा भेला भई ट्रम्पविरुद्ध नाराबाजी गरेका छन् ।
श्रोतः बिबिसी