कटहरिया (रौतहट), ६ वैशाख । रौतहटको कटहरिया नगरपालिकाले विद्युत महसुल नतिरेपछि खानेपानी उपभोक्ता समितिको लाईन काटिएपछि लक्ष्ति १६ सय परिवार खानेपानीबाट वञ्चित भएका छन् ।
कटहरिया नगरपालिका कार्यालय र वडा नम्वर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएपछि पालिकाको सम्पूर्ण सेवा ठप्प भएको छ भने खानेपानीको १६ सयभन्दा बढी परिवार शुद्ध खानेपानीबाट वञ्चित भएका हुन् ।
नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको टोलीले तीन दिनअघि खानेपानी समितिको मिटर खोलेर विद्युत आपूर्ति बन्द गरेका थिए । त्यसपछि सोही टोलीले नगरपालिका कार्यालयको लाइन समेत काटेको छ ।
प्रचण्ड गर्मीका बीच खानेपानी आपूर्ति बन्द भएपछि कटहरिया–४ र ५ का स्थानीयवासीहरु आक्रोशित बनेको छ । तीन दिनदेखि खानेपानी सपलाइ नहुँदा दैनिक जन जीवन नै प्रभावित भएको उनीहरूको गुनासो गरे ।
वडा नम्वर ४ का अध्यक्ष चन्दन कुशवाहाले मेयर अजय प्रकाश जयसवालको चरम लापरवाहीका कारण समयमै महसुल नतिर्दा यस्तो अवस्था सृजना भएको आरोप लगाए । वडा नम्वर ५ का अध्यक्ष सर्फलाल गुप्ताका अनुसार नगरप्रमुखको अदुर्दशिताको कारण यो पहिलो घटना नभई यसअघि पनि पटक–पटक यस्तै समस्या दोहोरिदै आएको छ ।
नेपाल विद्युत प्राधिकरण मौलापुरका प्रमुख उमेश दासले नगरपालिकाले ७३ हजार रुपैयाँ र खानेपानी उपभोक्ता समितिले १३ लाख ५१ हजार ४०० रुपैयाँभन्दा बढी महसुल तिर्न बाँकी रहेको जानकारी दिए । पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नभएपछि बाध्य भएर विद्युत लाईन काटिएको उनले स्पष्ट पारे ।
यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माध्वेन्द्र चौधरीले दुई दिनभित्र पालिकाको बक्यौता तिर्ने प्रतिबद्धता जनाए पनि खानेपानीको महसुल भने पालिकाले तिर्न नसक्ने स्पष्ट पारे ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले मेयर जयसवाल पानी निःशुल्क घोषणा गरेकोमा यसको जिम्मेवारी पालिकाले नै लिनुपर्ने बताए । गर्मीको चरम समयमा खानेपानी सेवा अवरुद्ध हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।
तत्काल समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी उपभोक्ताहरूले दिए ।