सर्लाही — मधेश प्रदेशको सुरक्षा संयन्त्रमै गहिरो जरा गाडेको भनिएको तस्करी सञ्जालको अर्को भयावह पाटो सार्वजनिक भएको छ ।
सर्लाहीबाट खुलेआम भारततर्फ पठाइँदै गरेको ठूलो परिमाणको अवैध सामान भारतीय सुरक्षा निकायले समातेपछि नेपालतर्फको सुरक्षा व्यवस्था माथि गम्भीर शंका उब्जिएको हो ।
भारतको सीतामढी जिल्ला सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ले सखुअवा र संग्रामपुर नाका हुँदै भित्र्याइएको चिनियाँ लसुन र खरबुजाको बीउ बोकेको दुईवटा महिन्द्रा बोलेरो पिकअप नियन्त्रणमा लिएपछि ‘सेटिङमा चलिरहेको तस्करी’ को यथार्थ सेटिङ बाहिरिएका छन् ।
एसएसबीले दुई वटा पिकअपबाट बरामद गरिएको ६७ बोरा (१२०६ किलोग्राम) चिनियाँ लसुन र ३७२४ किलोग्राम खरबुजाको बीउले मात्र होइन, यसले उजागर गरेको सञ्जालले झन् ठूलो प्रश्न खडा गरेको छ—नेपालतर्फ बाट यति ठूलो खेप कसरी सजिलै सीमा पार गर्यो ?
स्रोतहरूका अनुसार सर्लाहीमा तस्करी कुनै लुकिछिपीको काम नभई ‘प्रणालीगत धन्धा’ मा परिणत भइसकेको छ, जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारका केही जिम्मेवार अधिकारीहरूसँग मिलेमतोमा संगठित रूपमा अवैध कारोबार भइरहेको आरोप छ ।
विशेषगरी कुख्यात तस्कर सन्तोष भण्डारी लगायतका समूहले सुरक्षाकर्मीहरू सँग ‘लाइन मिलाएर’ दिनदहाडै सामान ओसारपसार गर्ने गरेको स्थानीय श्रोतको दाबी छ । अझ गम्भीर कुरा के छ भने, जिल्ला प्रहरी कार्यालयबाट ‘क्राइम टोली’ का नाममा खटिएका प्रहरी हवल्दार धर्मेन्द्र पटेल र प्रहरी जवान अजय सहनीनै तस्करीको सेटिङ मिलाउन सक्रिय रहेको आरोपले स्थिति झन् संवेदनशील बनेको छ ।
जिल्लाको पूर्वी नाका संग्रामपुर, सखुअवा, नारायणपुर, त्रिभुवननगरदेखि पश्चिमका भाडसर, बहादुरपुर, सिमरा, अर्नाहा, मधुवनी, बलरा, छनकी सम्म तस्करीको ‘रुट’ स्थापित भइसकेको स्रोतको भनाइ छ ।
गत केही दिने अघि यस्तै प्रकरणमा मधेश प्रदेशका उच्च तहका सुरक्षा अधिकारीहरू समेत विवादमा तानिएका छन् । पछिल्ला दिनमा बाहिरिएका विवरणहरूले तस्करी सञ्जाल केवल सीमित समूहको नभई ‘माथिदेखि तलसम्मको संरक्षित नेटवर्क’ भएको आशंकालाई बलियो बनाएको छ ।
यता, नेपालतर्फ भने तस्करी नियन्त्रणको दाबी दोहोरिँदै आएको छ । तर भारतीय सशस्त्र सीमा बल (एसएसबी) को कारबाहीले ती दाबीमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ ।