रौतहट, ३१ वैशाख । मधेश प्रदेश एचआइभीको उच्च जोखिममा रहेको एक तथ्याँकले देखाएको छ ।
धेरै समय देखि एचआइभी एड्स नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेपनि मधेस प्रदेशमा संक्रमणको अवस्था चिन्ताजनक रहेको एक तथ्याँकले देखाएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा मधेस प्रदेशको आठ वटै जिल्लामा ४ हजार ६ सय ८० जना एचआइभी संक्रमित एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचार गराइरहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय एचआइभी एड्स तथा कुष्ठरोग फोकल पर्सन राजवीर यादवले सबैभन्दा बढी संक्रमित पर्सा र सबै भन्दा कम संक्रमित सप्तरी जिल्लामा रहेका हुन् ।
पर्सामा १ हजार ५ सय ४, धनुषामा ८ सय ८६, सर्लाहीमा ५ सय ५८, सिराहामा ४ सय ५७, रौतहटमा ४ सय २२, महोत्तरीमा ३ सय ७१, बारामा २ सय ८८ र सप्तरीमा १ सय ९४ जना संक्रमितहरु उपचारमा रहेका छन् ।
बिशेषज्ञका अनुसार परीक्षणको दायरा बढ्दै गए पनि सामाजिक विभेद, डर र लाञ्छनाका कारण अझै धेरै सङ्क्रमित स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको छ ।
आर्थिक वर्ष २०७६–०७७ मा १४ हजार ६ सय २ जनामा एचआइभी परीक्षण गरिएको थियो भने २०८१–०८२ मा यो संख्या बढेर ७६ हजार ७ सय ९२ पुगेको छ ।
यद्यपि नयाँ संक्रमितहरूको संख्या भने स्थिर हुन सकेको छैन । तथ्यांकअनुसार २०७६–०७७ मा ४ सय, २०७७–०७८ मा ४ सय ७५, २०७८–०७९ मा ६ सय ७५, २०७९–०८० मा ६ सय ६, २०८०–०८१ मा ५ सय १० र चालु आर्थिक वर्ष २०८१–०८२ मा ४ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार खुला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क, सुई मार्फत लागुऔषध प्रयोग तथा यौनजन्य रोग संक्रमण फैलिने प्रमुख कारण रहेको छ ।
हाल प्रदेशभरीमा १० वटा सरकारी र १ वटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा रहेका छन् । आठवटै जिल्लामा एचआइभी परीक्षण, परामर्श सेवा, भाइरल लोड परीक्षण तथा प्रारम्भिक शिशु परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ ।
चालु आर्थिक वर्षमा मात्रै १६ जना गर्भवती महिलामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीहरूले समयमै परीक्षण र उपचार नभए आमाबाट बच्चामा संक्रमण सर्ने जोखिम उच्च रहने चेतावनी दिए ।
प्रदेशमा १८ वर्षमुनिका १ सय ७५ जना बालबालिका एचआइभी सङ्क्रमित छन् । तीमध्ये ४७ जना एकल अभिभावक विहीन र २० जना पूर्ण अनाथ रहेको तथ्यांकले देखाएको छ । संक्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषणका लागि मासिक एक हजार रुपैयाँ सहायता उपलब्ध गराइँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले एचआइभी नियन्त्रणमा प्रयास जारी राखेको बताए । तर खुला सीमा, वैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क र लुकेर हुने यौन व्यवसायका कारण संक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण रहेको उनको कथन छ ।
स्वास्थ्य विज्ञहरूले मधेस प्रदेशमा जनचेतना अभियान अझ प्रभावकारी बनाउँदै सामाजिक विभेद अन्त्य, सुरक्षित व्यवहारको प्रवद्र्धन र परीक्षण सेवाको पहुँच विस्तार गर्नुपर्ने जोड दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन