रौतहट, १ जेठ । रौतहटको बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादव पछिल्लो समय एकपछि अर्को विवादमा तानिन थालेका छन् ।
स्थानीयलाई गालीगलौज गर्ने, हातपात गर्ने आरोप खेपिरहेका नगरप्रमुख यादवमाथि अहिले एक स्थायी शिक्षकलाई नगरपालिका कार्यालयमै बोलाएर दुव्र्यवहार गरेको गम्भीर आरोप पिडित शिक्षकले लगाएका हुन् ।
श्री शंकर माध्यमिक विद्यालय सरमुजवामा कार्यरत स्थायी शिक्षक रामबाबु यादवलाई नगरप्रमुख यादवले आफनै कार्यकक्षमा बोलाएर गालीगलौज गर्नुका साथै कुटपिटको धम्की दिएको आरोप लागेका छन् । पीडित शिक्षक यादवले बिहीबार गौरमा सञ्चारकर्मीसमक्ष भावुक हुँदै आफूलाई मानसिक रूपमा प्रताडित गरिएको बताए ।
उनका अनुसार नगरपालिकाका कर्मचारी मार्फत फोन गरी वैशाख २९ गते अर्थात गत मंगलवार कार्यपालिकाको कार्यालयमा बोलाइएको थियो । त्यसपछि विभिन्न बहानामा गालीगलौज गर्दै घण्टौं सम्म कार्यालयमै बस्न बाध्य बनाइएको तथा कुटपिटको धम्की दिइएको उनले आरोप लगाए ।
पिडित शिक्षक यादवका अनुसार जेनजी पुस्ताको आन्दोलनताका सामाजिक सञ्जालमा कसैको नाम उल्लेख नगरी राखिएको एउटा स्टाटसलाई लिएर नगरप्रमुख आक्रोशित बनेका थिए । सोही विषय लाई आधार बनाएर आफूलाई अपमान जनक व्यवहार गरिएको उनको आरोप छ ।
यता नगरप्रमुख प्रदीप यादवले भने शिक्षकले आफू माथि लगाइएको आरोप अस्वीकार गरे । उनले स्थायी शिक्षक भएर मेयर र वडाध्यक्षको मानमर्दन हुने किसिमको स्टाटस राखिएको भन्दै सात दिने स्पष्टीकरण सोधिएको बताए । तर कुनै जवाफ नआएपछि पालिकामा बोलाएर सम्झाउने क्रममा सामान्य हप्की–दप्की दिएको स्वीकार गरे पनि कुटपिट वा बन्धक बनाउने जस्तो घटना नभएको दाबी गरे ।
“यदि मैले कुटपिट गरेको वा बन्धक बनाएको प्रमाण छ भने सार्वजनिक गर्नुस्,” भन्दै नगरप्रमुख यादवले चुनौती समेत दिए ।
घटनापछि बौधीमाई नगरपालिकाको कार्यशैली माथि प्रश्न उठ्न थालेको छ । सार्वजनिक पदमा रहेका व्यक्तिबाट शिक्षकजस्तो सम्मानित पेशाप्रति गरिएको व्यवहारलाई लिएर स्थानीयस्तरमा समेत व्यापक चर्चा सुरु भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन