रौतहट, २ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती क्षेत्रमा नयाँ ओभरहेड खानेपानी ट्याँकी निर्माणको लागि एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलंगवाको पहलमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ समग्र कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले निर्माणको लागि ठेक्का लिएपछि शिलान्यास गरिएको हो ।
२ लाख ५० हजार लिटर पानी अट्ने क्षमताको आधुनिक ओभरहेड ट्याँकी निर्माणका लागि ७७ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको जनाइएको छ । शनिबार आयोजित शिलान्यास कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमलसिना, मधेश प्रदेशका पूर्वमन्त्री युवराज भटराई तथा मधेश प्रदेशसभा सदस्य नागेन्द्र साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
यसअघि निर्माण गरिएको पुरानो ओभरहेड ट्याँकी जीर्ण र जोखिमपूर्ण अवस्थामा पुगेपछि स्थानीयवासी त्रसित बनेका थिए । पुरानो संरचना जुनसुकै बेला भत्किन सक्ने अवस्था रहेकाले नयाँ ट्याँकी निर्माण सुरु भएसँगै स्थानीयमा राहत र उत्साह थपिएको छ ।
स्थानीयवासीलाई स्वच्छ, सुरक्षित र सहज खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण हुन लागेको यो आयोजना सम्पन्न भएपछि चन्द्रपुर क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन