रौतहट, ७ जेठ । अभिभावकको छत्रछाया गुमाएपछि घरको गुजारा चलाउन केही गर्नुपर्छ भन्दै भाजा बनाएर बेच्दै छोराछोरीलाई हुर्काइन, अहिले राम्रो विद्यालयमा पढाएर समाजमा नारी शक्तिले अरुका लागि उदाहरण बनेकी छिन् ।
रौतहटको राजपुर नगरपालिका–२ निवासी पार्वती देवी एक साहसी महिला हुन्, कोभिडमा जसले श्रीमानको निधनपछि हार नमानी मेहनतले परिवारको भविष्य निर्माण गर्नमा निरन्तर रुपमा संघर्ष गरिरहेकी हन् ।
कोभिड महामारीका क्रममा श्रीमानको असामयिक निधन भएपछि पार्वतीको काँधमा वृद्ध सासू, एक छोरी र दुई छोरासहित पाँच सदस्यीय परिवारको सम्पूर्ण जिम्मेवारी थपियो । आर्थिक संकटले थिचिए पनि उनले आत्मबल गुमाइनन् ।
श्रीमानकै बाटोमा अग्रसर हुँदै काठमाडौंकै फुटपाथमा भाजा विक्री गरेर आफनो जीवन यापन चलाइरहेको परिवेशमा महानगरपालिकाको कठोर कदमबाट त्यहाँबाट उठिवास भएर गाउँ फर्किन बाध्य भइन ।
गाउँमै केही गरेर परिवार धान्ने अठोटका साथ अघि बढेकी पार्वतीलाई इस्लामिक रिलिफ क्यानाडाको प्राविधिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको सहकार्यमा सञ्चालित लैंगिक हिंसा न्यूनीकरण परियोजनाले आत्मनिर्भर बन्नमा सहयोग गर्यो ।
परियोजना मार्फत सीप विकास तालिम र प्रारम्भिक सहयोग पाएपछि पार्वतीले भाजा, पानीपुरी, चना चटपटी लगायतका खाजा सामग्री बिक्री गर्ने ठेलागाडा व्यवसाय सुरु गरिन् । अहिले उनी दैनिक गाउँ फतुवा महेशपुरबाट करिब ३ किलोमिटर टाढा यमुनामाई गाउँपालिका अन्तर्गतको झुनखुन्वा बजार पुगेर व्यापार गर्दै आयआर्जनमा तल्लिन छिन् ।
दैनिक घरको कामधन्दा सकेर बजारतर्फ निस्कने पार्वती राति अबेर सम्म व्यापार गरेर घर फर्किन्छिन् । मौसम राम्रो हुँदा व्यापार पनि राम्रो हुने गरेको उनको अनुभव छ । सबै खर्च कटाएर दैनिक पाँच सयदेखि एक हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको उनले बताइन् ।
उनको यही संघर्षले अहिले परिवारको चुल्हो मात्र बलेको छैन, छोराछोरीको शिक्षालाई पनि निरन्तरता दिएको छ । उनका जेठा छोरा यस वर्षको एसईई परीक्षामा २.९९ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । आर्थिक अभावका बीच पनि छोराछोरीको उच्च भविष्य बनाउने सपना रहेकी पार्वती बताउँछिन् ।
पार्वतीको संघर्ष अहिले गाउँघरका अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बनेको छ । पहिले घरभित्र सीमित रहने तराई–मधेसका महिलाहरू अहिले साना व्यवसाय, कृषि, पशुपालन तथा उद्यमशिलता मार्फत आत्मनिर्भर बन्न थालेका छन् । पार्वती केवल एउटा उदाहरणीय पात्र मात्रै हुन्, उनी जस्तै हजारौं महिलाहरू आफ्नै मेहनत र साहसले परिवार धान्दै समाजमा उदाहरणीय बनेका छन् ।
लैंगिक हिंसा न्यूनीकरण परियोजनाका कार्यक्रम प्रबन्धक धर्मेन्द्र साहका अनुसार परियोजना मार्फत एक हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाउन सहयोग गरिएको छ । महिलालाई सीप, आत्मविश्वास र आर्थिक सहयोग उपलब्ध गराउँदा उनीहरू आफैं सक्षम बन्न सक्ने उदाहरण पार्वती जस्ता महिलाले प्रस्तुत गरेको साहको कथन छ ।
ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालले राजपुर र चन्द्रपुर नगरपालिकामा महिला सशक्तीकरण तथा लैंगिक हिंसा न्यूनीकरणका उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन