जनकपुरधाम, ८ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुअघि नै प्रदेशको राजनीतिक समीकरणमा व्यापक फेरबदल गरेका छन् ।
मधेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेको चर्चा चलिरहेकै बेला मुख्यमन्त्री यादवले त्यसको प्रभाव प्रदेश सरकारमै देखाएका हुन् ।
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिनुअघि बिहीबार राति नै नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै नयाँ समीकरणको औपचारिक सुरुवात गरिसकेको संकेत गरेका छन् ।
एमालेबाट तत्काल मोहम्मद समिरलाई विना विभागीय मन्त्रीको रूपमा शपथ गराइएको छ भने बाँकी तीन मन्त्रीलाई शुक्रबार साँझसम्म शपथ गराउने तयारी गरिएको एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले जानकारी दिए । एमालेले प्रदेश सरकारमा चार मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।
नयाँ गठबन्धनसँगै लामो समयदेखि मधेश सरकारमा प्रभावशाली रहँदै आएका मधेश केन्द्रित दल जनमत पार्टी र जसपा नेपालमाथि दबाब बढेको छ । विशेषगरी जनमत पार्टी सरकारबाट बाहिरिने लगभग निश्चित बनेको छ भने जसपा नेपाललाई पनि सरकारमै राख्ने प्रयास भइरहेको स्रोतले जनाए । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक रूपमा विश्वासको मत लिन बाध्य भएका हुन् । समर्थन फिर्तापछि जनमतबाट सरकारमा सहभागी अर्थमन्त्री महेशप्रसाद यादव तथा खेलकुद तथा समाजकल्याण मन्त्री वसन्तकुमार कुशवाहालाई राजीनामा दिन निर्देशन दिइएको थियो । दुवै मन्त्रीले राजीनामा बुझाइसकेको बताइएको छ ।
यता जसपा नेपालले भने संसदीय दलको बैठक मार्फत मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । मधेश प्रदेशसभामा जसपा नेपालका २६, एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपाका १४, जनमत पार्टीका १२ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका १÷१ सांसद रहेका छन् । कांग्रेस, एमाले, नेकपा र जसपा नेपालको समर्थनसहित मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वास प्राप्त गर्ने देखिएको छ ।
विश्वासको मतको पूर्वसन्ध्यामा भएको यो राजनीतिक पुनर्संरचनाले मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ मोड ल्याएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन