रौतहट, १० जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल असार १५ गतेभित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनपछि राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले विस्तृत कार्ययोजना लागू गर्दै मूल्याङ्कन प्रक्रिया अघि बढाएको हो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्डद्वारा तय भएको समयमै नतिजा प्रकाशन गर्न सबै तयारी पूरा भइसकेको बताए । उनका अनुसार ‘मार्किङ स्किम’ निर्माण कार्य सुरु भइसकेको छ भने प्रत्येक विषयमा पाँच जना विज्ञ सहभागी गराई कार्यशाला सञ्चालन भइरहेको भने ।
बोर्डले परीक्षा सकिएकै दिन प्रश्नपत्र संकलन गरी प्रदेश कार्यालयमा पठाइसकेको जनाए । वैशाख तेश्रो साताभित्र देशभरका परीक्षा केन्द्रबाट उत्तरपुस्तिका संकलन गरिएको र प्राप्त उत्तर पुस्तिकाको दैनिक रूपमा विषयगत प्याकिङ गरी भोलिपल्टै परीक्षण प्रक्रियामा पठाउने व्यवस्था मिलाइएको छ ।
उत्तरपुस्तिका परीक्षणका लागि सम्बन्धित कार्यालय अन्तर्गत विषयगत शिक्षक उपलब्ध हुने स्थानमा परीक्षण केन्द्र तोकिएको छ । सम्भव भएसम्म सिसी क्यामेरा जडान भएका विद्यालयलाई परीक्षण केन्द्र बनाइएको र अन्य स्थानमा सिसिटिभी जडान गरेपछि मात्र परीक्षण सुरु गरिएको बोर्डले जनाए ।
एकभन्दा बढी परीक्षण केन्द्र भएका जिल्लामा फरक जिल्ला वा स्थानमा उत्तरपुस्तिका पठाएर परीक्षण भइरहेको छ । एउटा मात्र केन्द्र भएका जिल्लामा भने आफ्नै विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी फरक विद्यालयका शिक्षक मार्फत परीक्षण गराउने व्यवस्था गरिएको छ । शिक्षक अभाव वा अन्य कारणले परीक्षण हुन नसकेका उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयमै पठाइएको बोर्डले जनाए ।
यस वर्षदेखि सम्परीक्षण प्रक्रिया पनि विकेन्द्रीकरण गरिएको छ । अघिल्ला वर्षमा परीक्षा नियन्त्रण कार्यालयमै हुने सम्परीक्षण अब परीक्षण केन्द्रबाटै गरिने भएको छ ।
प्रत्येक विषयमा कम्तीमा एक जना अनुभवी सम्परीक्षक खटाउने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाए । सम्परीक्षणपछि प्राप्ताङ्क खामबन्दी गरी तत्काल परीक्षा नियन्त्रण कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।
वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी भएका थिए । नियमित तर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी भएका थिए, जसमा १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा तथा २९० अन्य परीक्षार्थी रहेका छन् ।
जिल्लागत रूपमा सबैभन्दा कम मनाङमा ३१ जना र सबैभन्दा बढी काठमाडौंमा ६४ हजार ३३८ परीक्षार्थी सहभागी भएका थिए । देशभर १ हजार ४२० तथा जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको थियो ।
बोर्डले यस वर्ष विगत भन्दा बढी व्यवस्थित र प्रविधिमैत्री ढंगले मूल्याङ्कन प्रक्रिया सञ्चालन गरिएको दाबी गर्दै तोकिएको समयमै नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन