रौतहट, ११ जेठ । नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पतालले सञ्चालन गर्दै आएको आँखा जाँच, उपचार, चश्मा वितरण, अपरेशन तथा जनचेतनामूलक महाअभियान अन्तर्गत गौर नगरपालिकाको विशेष पहलमा श्री जुद्ध माध्यमिक विद्यालय, गौरमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा विद्यालयका झण्डै एक हजार विद्यार्थीको दुई दिनसम्म आँखा परीक्षण गरिएको हो । करिब दुई हजार विद्यार्थी अध्ययनरत विद्यालयमा गरिएको परीक्षणका क्रममा करिब १०० जना विद्यार्थीमा दृष्टिदोष तथा चश्मा लगाउनुपर्ने समस्या देखिएको अस्पतालले जनाए ।
परीक्षणका क्रममा दुई जना १५ वर्षीया बालिकामा मोतियाबिन्दु फेला परेको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले जानकारी दिए । ती बालिकाको आवश्यक विशेष उपचार आगामी शनिबार गौर आँखा अस्पतालमा गरिने तथा चश्मा वितरण कार्यक्रम समेत सञ्चालन गरिने उनले बताए ।
कार्यक्रमको क्रममा २५ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरियो भने उनीहरूलाई आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको उनले भने विद्यार्थीहरूलाई हरियो सागसब्जी सेवन गर्ने, मोबाइलको कम प्रयोग गर्ने, समयको सदुपयोग गर्ने तथा विद्यालय भर्ना अघि अनिवार्य रूपमा आँखा निरोगिता प्रमाणपत्र लिनुपर्ने विषयमा समेत जनचेतनामूलक जानकारी दिइयो ।
सेवा प्रदान गर्ने प्राविधिक टोलीमा अर्चना सिंह, कार्यक्रम संयोजक पाण्डेय, जितेन्द्र यादव, प्रदुमन यादव तथा गौरीशंकर राउत लगायतका स्वास्थ्यकर्मीहरुद्धारा प्रशिक्षण दिइएका थिए । बाल अन्धोपन तथा दृष्टिदोष न्यूनीकरण गर्ने उद्देश्यले गौर आँखा अस्पतालले विभिन्न दातृ निकायहरूको सहयोगमा लामो समयदेखि महाअभियानकै रूपमा आँखा जाँच, उपचार, चश्मा वितरण तथा अपरेशन कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी — आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारा सहित सञ्चालित अभियान अन्तर्गत विद्यालय स्तरका बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जनाए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन