रौतहट, १६ जेठ । प्रधानमन्त्री कप प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी हुन राजविराज प्रस्थान गर्ने रौतहट महिला क्रिकेट टोलीलाई एक कार्यक्रमका बीच भव्य बिदाइ गरिएको छ ।
नेपाली कांग्रेसका नगर सभापति एवं समाजसेवी मोहन यादवले टोलीका खेलाडीहरूलाई अग्रिम शुभकामना दिँदै बिदाइ गरेका हो ।
रौतहट क्रिकेट संघद्वारा आयोजित कार्यक्रममा खेलाडीहरूको मनोबल उच्च बनाउँदै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरियो ।
कार्यक्रममा बोल्दै समाजसेवी यादवले रौतहटले महिला क्रिकेटको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै जिल्लाका खेलाडीहरूले राष्ट्रिय स्तरमा समेत आफ्नो प्रतिभा प्रदर्शन गरेर जिल्लाको गौरव बढाउदै आएको बताए । उनले आगामी छनोट प्रतियोगितामा पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै रौतहटको शिर उच्च पर्ने विश्वास व्यक्त गरे ।
रौतहट क्रिकेट संघका पदाधिकारीहरूले महिला क्रिकेटको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि संघ निरन्तर लागिरहेको बताए । उनीहरूले प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै खेलाडीहरूको मेहनत र समर्पणले सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
प्रदेश स्तरीय छनोट प्रतियोगिताका लागि राजविराज प्रस्थान गरेको टोलीमा रहेका खेलाडीहरू उत्साहित देखिए । उनीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रौतहटलाई सफल नतिजा दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रौतहट महिला क्रिकेट टोलीले विगत केही वर्षयता विभिन्न प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै जिल्लालाई खेलकुदको क्षेत्रमा नयाँ पहिचान दिलाउँदै आएको छ । यसपटकको प्रधानमन्त्री कप प्रदेश स्तरीय छनोट प्रतियोगितामा पनि टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन