रौतहट, २५ जेठ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालको ‘नमुना महाअभियान’ अन्तर्गत गौर नगर क्षेत्रमा सोमवार विभिन्न स्थानमा सञ्चालन गरिएका आँखा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।
अभियान मार्फत सयौं विद्यार्थी, शिक्षक तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भएका हुन् ।
अस्पतालका अनुसार गौर स्थित मोनास्टिक इन्टरनेशनल एकेडेमीमा दोस्रो दिन सञ्चालन गरिएको आँखा परीक्षण तथा परामर्श कार्यक्रममा करिब ३०५ जना विद्यार्थी तथा शिक्षक सहभागी भएका थिए । परीक्षणका क्रममा १७ जनामा दृष्टिदोष तथा अन्य आँखा सम्बन्धी समस्या पहिचान भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी राजभूषण श्रीवास्तवको विशेष पहलमा अशोका एकेडेमी बोर्डिङ स्कुल, गौरमा आयोजित आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रममा १७८ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा बालबालिकालाई आँखा स्वास्थ्य, दृष्टि संरक्षण तथा समयमै उपचारको महत्वबारे जानकारी प्रदान गरियो ।
यसैबीच गौरको जुद्धमा सञ्चालन भएका आँखा शिविरबाट छनोट भएका बिरामीहरू मध्ये २७ जनाको सफल मोतियाबिन्दु शल्यक्रिया (लेन्स प्रत्यारोपण सहित) सम्पन्न गरिएको अस्पतालले जनाए । नेत्ररोग विशेषज्ञ सहितको टोलीले शल्यक्रिया गरियो ।
अस्पतालले आँखा स्वास्थ्य सेवा गाउँ–गाउँसम्म पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाए । सोही अभियान अन्तर्गत माण्डवीको विशेष पहलमा ईशनाथ नगरपालिका–औरैया स्थित नगरपालिकाको पुरानो भवनमा यही जेठ २७ गते बुधबार बिहान ९ बजे देखि साँझ ४ बजेसम्म निःशुल्क आँखा जाँच, उपचार, आवश्यक परामर्श तथा लेन्स सहित मोतियाबिन्दु शल्यक्रियाका लागि छनोट सेवा प्रदान गरिने विशेष शिविर आयोजना गरिने भएको छ ।
अस्पतालले आँखा सम्बन्धी समस्या भएका नागरिकलाई शिविरमा सहभागी भई निःशुल्क सेवा लिन आग्रह गरे । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारा सहित सञ्चालन भइरहेको महाअभियानले रौतहटमा आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै उपचार सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन