रौतहट, २७ जेठ । मनसुनका समयमा हुन सक्ने बाढी तथा अन्य प्राकृतिक विपद्बाट समुदायलाई सुरक्षित राख्ने उद्देश्यले रौतहटको चन्द्रपुरमा दुईदिने आवासीय बाढी पूर्वसूचना प्रणाली तालिम, कार्यशाला तथा घटना अभ्यास कार्यक्रम सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागको आयोजना तथा वागमती नदी सुधार आयोजना अन्तर्गत सञ्चालित “समुदायमा आधारित पूर्वचेतावनी प्रणाली सुदृढीकरण परियोजना” अन्तर्गत बुधबार देखि चन्द्रनिगाहपुरमा कार्यशाला सञ्चालन भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य विपद् पूर्वतयारी, सूचना सम्प्रेषण प्रणालीको सुदृढीकरण तथा समुदायको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाए । परियोजना हाल वागमती नदी आसपासका चन्द्रपुर, वृन्दावन, गढीमाई, माधवनारायण, राजदेवी नगरपालिका तथा दुर्गा भगवती गाउँपालिका का १३ वटा समुदायमा सञ्चालन भइरहेको छ ।
कार्यशालामा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलिक इन्जिनियर सौभाद्र जोशीले बाढी तथा अन्य विपद्का समयमा समुदायलाई अपनाउनु पर्ने सावधानी, उद्धार तथा जोखिम न्यूनीकरणका उपायबारे प्रशिक्षण दिए । सहभागीहरूलाई विपद्को समयमा जीवन र सम्पत्तिको क्षति न्यून गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गरियो ।
कार्यक्रमको दोस्रो दिन भोली बिहीबार विपद्को कृत्रिम घटना अभ्यास (Simulation Exercise) सञ्चालन गरिनेछ । उक्त अभ्यासको सहजीकरण विगत २५ वर्षदेखि विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत विज्ञ रानी गुरुङ ले गर्ने बताइएको छ ।
समुदायमा आधारित पूर्व चेतावनी प्रणाली सुदृढीकरण परियोजनाका प्रमुख इन्जिनियर दिपेन्द्रबहादुर सिंहका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको छ । पहिलो चरणमा चन्द्रपुर, वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधि, विपद् फोकल पर्सन, सुरक्षा निकाय तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलाई समेटेर तालिम सम्पन्न भइसकेको छ ।
आज देखि सुरु भएको दोस्रो चरणमा माधवनारायण नगरपालिका, राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँपालिका का प्रमुख, उपप्रमुख, वडाध्यक्ष, विपद् फोकल पर्सन, सुरक्षा निकाय, रेडक्रस तथा अन्य सरोकारवाला पक्षहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहट जिल्ला बाढी तथा प्राकृतिक विपद्को उच्च जोखिममा रहे पनि विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।
उनले यस्ता तालिम तथा कार्यशालाले स्थानीय तह र समुदायको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहभागीहरूलाई गम्भीरतापूर्वक प्रशिक्षण लिन आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन फाँटका प्रमुख रामनरेश साहका अनुसार कार्यक्रममा राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, माधवनारायण नगरपालिकाका नगरप्रमुख बैद्यनाथ प्रसाद यादव, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह सहित विभिन्न पालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, रेडक्रस तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
मनसुन नजिकिँदै जाँदा बाढी प्रभावित क्षेत्रका समुदायलाई पूर्वतयारी, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले जिल्लाको विपद् व्यवस्थापन क्षमतामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन