रौतहट, ३१ जेठ । रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर गाउँ भित्री सडक प्रयोग गरेर ट्रेक्टर मार्फत माटो ढुवानी नगर्न वडा कार्यालयले सम्बन्धित व्यक्ति तथा व्यवसायीहरुलाई उर्दी जारी गरेको छ ।
गाउँ भित्रबाट माटो ओसार पसार गरिरहदा अत्यधिक धुलो उडेर वातावरण प्रदूषित हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जनजीवन प्रभावित हुन थालेपछि वडाध्यक्ष चन्दन कुशवाहाले सार्वजनिक सूचना जारी गरेर ढुवानीमा रोक लगाएको हो ।
वडा कार्यालयद्वारा जारी पत्रमा पछिल्लो समय विभिन्न निर्माण तथा भरण कार्यका लागि लालबकैया नदी किनारबाट ट्रेक्टर मार्फत माटो ढुवानी कार्य अत्याधिक रुपमा बढेको छ । उक्त कार्यबाट सडक आसपासका बस्तीमा धुलोको मात्रा उल्लेखनीय रूपमा बढ्दै गएको, सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको तथा आवतजावतमा समेत कठिनाइ उत्पन्न भएको गुनासो प्राप्त भएपछि वडा कार्यालयले यस प्रकारको कदम उठाउन बाध्य भएका छन् ।
जारी सूचनामा स्थानीयवासीको स्वास्थ्य, स्वच्छ वातावरण तथा सार्वजनिक हितलाई मध्यनजर गर्दै बहादुरपुर गाउँ भएर माटो ढुवानी नगर्न अनुरोध गरिएको छ । वडा कार्यालयले सूचनाको पालना गर्न सबै सरोकारवालासँग आग्रह गर्दै अटेर गरिए आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सकिने जनाएको छ ।
यसअघि लामो समयदेखि गाउँको सडकमा जमेको धुलो र हिलो हटाउन वडा अध्यक्ष कुशवाहाको पहलमा स्थानीय युवाहरूले शनिबार बिहान सरसफाइ अभियान सञ्चालन गरेका थिए । सरसफाइ पछि पुनः धुलो प्रदूषण नबढोस् भन्ने उद्देश्यले वडा कार्यालयले उक्त सूचना जारी गरेको जनाए ।
स्थानीय तहको यो कदमलाई वातावरण संरक्षण, जनस्वास्थ्य प्रवद्र्धन तथा स्वच्छ बस्ती निर्माण तर्फको जिम्मेवार पहलका रूपमा हेरिएको छ । स्थानीय बासिन्दाले पनि धुलो प्रदूषण नियन्त्रणका लागि सबै पक्षले नियमको पालना गर्नुपर्नेमा जोड दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन