रौतहट, १ असार । गुणस्तर परिक्षणको नाममा भारतीय पक्षले नेपाली चिया निर्यात माथि अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आज सोमबार देखि बन्द भएका छन् ।
नेपाली चियाको निर्यात ठप्प हुँदा उत्पादित चियाले बजार नपाएपछि उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन् ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले भारतीय चिया बोर्डले हालै लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको बताए ।
यसले भारतीय आयातकर्ताहरूलाई झन्झटिलो प्रक्रियाको सामना गर्न बाध्य बनाएको र त्यसको प्रत्यक्ष असर नेपाली चिया बजारमा परेको उनले बताए ।
उनका अनुसार पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आज देखि बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू असार ४ गतेदेखि बन्द हुनेछन् ।
‘भारतको टि–बोर्डले नेपाली चिया आयातकर्ताहरूलाई अनावश्यक दुःख दिएको कारण बजार नै ठप्प भएको छ,’ गुप्ताले भने, ‘अहिले कुनै पनि आयातकर्ता नेपाली चिया खरिद गर्न इच्छुक देखिएको छैन ।’
भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरी परीक्षणका लागि पठाउने र प्रतिवेदन आउन १५ देखि २० दिनसम्म लाग्ने प्रक्रियाले आयातकर्ताहरू निरुत्साहित बनेका छन् । परीक्षणमा सामान्य त्रुटि देखिए चिया नष्ट गरिन सक्ने जोखिमका कारण भारतीय व्यापारीहरू नेपाली चिया किन्न हिच्किचाइरहेका उद्योगीहरूको भनाइ छ ।
संघका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । उत्पादित चियाको करिब ९० प्रतिशत बजार भारतमा निर्भर रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन