रौतहट, ३ असार । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पताल पुरेनवाको महाअभियान वृन्दावन नगरपालिको चमनपुरमा एक दिने निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरियो ।
वृन्दावन नगरपालिका–६ चमनपुरमा आयोजित निःशुल्क आँखा जाँच तथा उपचार शिविर आज बुधवार सफलतापूर्वक आयोजना गरिएको हो ।
रौतहट समाज सेवा यात्रा नामक संस्थाका अध्यक्ष मो. वलिगुदीनको विशेष पहल तथा दहेजमुक्त अभियान नेपाल, वृन्दावन–६ को सहकार्यमा सम्पन्न शिविरमा ४३५ जना सेवाग्राहीले आँखा परीक्षण तथा जनचेतनामूलक सेवा प्राप्त गरे ।
आँखा परीक्षण गरिएका मध्ये २६७ जनालाई निःशुल्क औषधि वितरण गरिएको गौर आँखा अस्पतालले जनाए । शिविरमा आँखा परिक्षण गरिएका ५८ जनाको आँखामा मोतिबिन्दु भेटियो ।
मोतिबिन्दु भएका बिरामीलाई लेन्ससहितको निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए । संयोजक पाण्डेका अनुसार छनोट भएका बिरामीहरूको आउने–जाने यातायात व्यवस्थासहित विहिवार देखि गौर आँखा अस्पताल, पुरेनवामा लेन्स प्रत्यारोपण सहित शल्यक्रिया गरिनेछ ।
नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालका प्रशासक नागेश्वर प्रसाद चौधरीले महाअभियान अन्तर्गत सञ्चालन गरिएको शिविरमा नेत्र अधिकृत शिवकुमार यादव सहित अमित दास, मुकेश झा, पाण्डे लगायत सात सदस्यीय स्वास्थ्य टोलीले विशेषज्ञ सेवा प्रदान गरेको बताए ।
यसैबीच, महाअभियान अन्तर्गत आगामी असार ७ गते आइतबार रौतहटको माधवनारायण नगरपालिका अन्तर्गत रहेको माध्यमिक विद्यालय मधोपुरमा अर्को बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरिने जानकारी दिए ।
उक्त कार्यक्रम हिन्दु सम्राट सेना नेपाल र माधवनारायण नगरपालिकाको संयुक्त आयोजनामा तथा डाक फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन हुने अस्पताल प्रशासनले जनाए ।
स्थानीय तह, सामाजिक संघसंस्था तथा समुदायको बढ्दो सहकार्यका कारण महाअभियान प्रभावकारी बन्दै गएको भन्दै अस्पताल प्रशासनले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा रहेका आँखा सम्बन्धी समस्याका बिरामीलाई प्रत्यक्ष लाभ पुगेको विश्वास व्यक्त गरेको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन