संजयकुमार मिश्र
रौतहट, ४ असार । रौतहटको फतुवा विजयपुर नगरपालिकामा बुधबार राति सुरुङ खनेर लाखौं रुपैया नगद तथा सुनचाँदीका गरगहना चोरी भएका छन् ।
फतुवा विजयपुर नगरपालिका–६ मोतिपुर गाउँ निवासी रामप्रसाद यादव, तेजनारायण यदाव र गजेन्द्र सहनीको घरमा अज्ञात चोर समुहद्धारा सुरुङ खनेर लाखौं नगद तथा सुनचाँदीका गरगहना चोरी गरेर लगेका हुन् ।
सुरुङ खनेर उनीहरुको घरमा प्रवेश गरेपछि गहिरो निद्रामा रहेका परिवारका सदस्यहरूको मौका छोपेर चोरी गरिएको पीडित परिवारले जनाएको छ ।
गहिरो निद्रामा रहेका रामप्रसादको घरबाट नगद २ लाख ८० हजार नगद तथा करिब २ लाख ४० हजार बराबरको सुनको मंगलसूत्र र हनुमानी चोरी भएको पीडित परिवारले जनाएको हो ।
यस्तै तेजनारायणको घरबाट करिब २० हजार रुपैयाँ बराबरका चाँदीका तीन थान बाला चोरी भएको बताइएको छ । चोरहरू सहनीको घरभित्र समेत प्रवेश गरे पनि त्यहाँबाट कुनै सामान लैजान नसकेको स्थानीयवासीबाट बुझिएको छ ।
घटनापछि बिहीबार बिहान इलाका प्रहरी कार्यालय विजयपुरको टोली घटनास्थल पुगेका थिए । वडा नम्वर ६ का अध्यक्ष राम एकवाल यादवका अनुसार अज्ञात चोर समुहले ट्रंंक र बाकसका ताला तोडेको कुनै स्पष्ट चिन्ह नदेखिएकोमा नक्कली चाबी प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ ।
“ताला सहज रूपमा खुलेको अवस्थामा भेटिएको छ । त्यसैले चोरहरू व्यावसायिक र योजनाबद्ध समूह रहेको देखिन्छ,” वडाध्यक्ष यादवले बताए ।
घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भनेको बुधबार दिउँसोदेखि गाउँ नजिकै पाल टाँगेर बसेको १०–१२ जनाको घुमन्ते (नेटुवा) समूह बस्न सुरु गरेपछि चोरी हुनु कतै उनीहरु माथि चोरीको आशंका गरिएको छ ।
स्थानीयका अनुसार उक्त समूहका केही सदस्यले घरघरमा पुगेर आफूहरू झाँक्री तथा तान्त्रिक भएको बताउँदै सम्पर्क गर्न आग्रह गरेका थिए । त्यसको केही घण्टापछि नै चोरीको घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा उनीहरूमाथि शंका उत्पन्न भएको छ ।
यद्यपि प्रहरीले हालसम्म कसैको संलग्नता पुष्टि नभएको जनाए । शंकास्पद गतिविधिका आधारमा सोधपुछका लागि नेटुवा समूहका तीन जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाए ।
पछिल्ला दिनमा ग्रामीण क्षेत्रमा चोरीका घटना दोहोरिन थालेपछि स्थानीयले रातिको समयमा गस्तीलाई प्रभावकारी बनाउन, अपरिचित व्यक्तिको निगरानी बढाउन तथा सामुदायिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाउनुपर्ने स्थानीयले जोडदार रुपमा माग उठाए ।