रौतहट–सर्लाही, ५ असार । गृह मन्त्रीमा सुदन गुरुङको पुनर आगमन भएपछि सर्लाही, रौतहट सहित तराई मधेशका जिल्लाहरुमा व्यापक रुपमा तस्करी जारी रहदा दैनिक लाखौं लाख राजस्व गुम्दै गएपनि सुरक्षाकर्मीहरु सेटिङमै मस्त रहेका छन् ।
सर्लाहीको सग्राम्पुर, नारायणपुर, सखुअवा, पर्सा, त्रिभुवननगर, खुटौना, लचका, झिलमिलियामाई, गोरखकाली, भाँडसर, सिमरा, छतौना, छनकी सहितका नाकाहरुबाट दैनिक लाखौं लाखको मालसामानहरु राजस्व छलेर नेपाल भित्रयाउने कार्य जारी रहेका हुन् । यस्तै नेपालबाट भारत तर्फ चाइनिज स्याउ, अखरोट, फर्सीको विऊ, लगायतका सामानहरु जाने गरेका छन् ।
उक्त नाकाहरुबाट हिरालाल साह र रौशन यादव नामक व्यापारीले दैनिक कपडाको कारोवारलाई जारी राखेको छ । उक्त कार्यमा सीमा क्षेत्रमा रहेका विओपी इन्चार्ज र नेपाल प्रहरीका युनिट इन्चार्जको सेटिंगमा राजस्व छलीका कारोवार भईरहेको स्थानीय श्रोतले बतायो । छतौनाको छनकी नाका भएर ठूलो परिमाणमा कुखुराको चल्ला भित्रिने क्रम जारी छ भने त्यतीकै मात्रामा मदिरा भारत तर्फ निर्यात हुँदै आएको श्रोतले बतायो ।
सर्लाहीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमा राजस्व छलीका कारोवार जारी रहेको बताउदै मलंगवा–१ मा आरएस ट्रेडर्सको घरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले छापा मार्दा केही बरामद भएन ।
वडा नम्वर १ का वडाध्यक्ष नवलकिशोर रायले उक्त ट्रेडर्सको वडा नम्वर २ मा भण्डारण गरिएका वैद्य सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेर सामान उठाएर मलंगवा भन्सार कार्यालयमा पुर्याए । हामी भन्सारमा जाँदा प्रहरीले बेवारिसे बरामद गरेको प्रतिवेदन पेश गरेपछि प्रहरीको नियतमाथि वडाध्यक्ष रायले गम्भीर प्रश्न उठाए ।
गोदाममा भण्डारण गरिएका वैद्य सामान उठाउन आरएस ट्रेडर्सको संचालकको दुई वटा छोरालाई निर्घात कुटपिट गरेर सामान लगेको तर भन्सारमा बेवारिसे प्रतिबेदन बुझाउनुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यशैलीका विरुद्ध मलंगवाका स्थानीय बासिन्दाहरु आक्रोशित भई दुबै निकायका जिम्मेवार पदाधिकारीलाई कारवाहीको माग गरेका छन् ।
यसैगरी रौतहटको मुख्य गौर नाकामा कडाई गरिएपनि पश्चिम बकैया पारी मठियाको महुलिया, जयनगर, रामपुरखाप, नरकटिया बंकुल सहितको क्षेत्रबाट अहिले व्यापक रुपमा तस्करी कार्य जारी रहेको बताइएको छ ।
रामपुरखाप, औरैया, बंकुल सहितका विओपी र प्रहरी चौकीको सेटिंगमा राजस्व छलीको कारोवार निर्वाध रुपमा संचालनमा रहेका छन् । उक्त नाकाहरुबाट छिर्ने सामानहरु मौलापुरका पसल पसल सहित कटहरिया, गरुडा, चन्द्रपुर सम्मका पसलमा पुग्ने गरेका हुन् । उक्त कार्यमा रुटमा पर्ने सबै युनिट देखि लिएर जिल्ला सम्मको सेटिंग रहेको एक कारोवारीले बताए ।
केही समय रोकिएका तस्करी अहिले मधेश प्रदेशभरी नै जारी रहदा दैनिक लाखौं लाख राजस्व प्रभावित हुँदै आएपनि सुरक्षाकर्मीहरु सेटिंगमै मस्त रहेको छ । राजस्व छलीको कारोवारी नियन्त्रण गर्न यहाँका सुरक्षाकर्मीलाई चुनौती बन्दै गएका छन् ।
तस्करी नियन्त्रणमा सुरक्षा निकायको प्रभावकारिता माथि प्रश्न उठिरहेका बेला सशस्त्र प्रहरी बल नम्बर १० गणका प्रमुख एसपी अमरबहादुर खत्रीले तस्करी नियन्त्रणका लागि निरन्तर निगरानी र कारबाही भइरहेको बताए । “तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मी चौबीसै घण्टा परिचालित छन्,” उनले प्रतिक्रिया दिए ।
यता रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले सीमाक्षेत्रमा तस्करीका गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न जनशक्ति अभाव चुनौती बनेको स्वीकार गरे । उनले उपलब्ध स्रोत–साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै नियन्त्रण प्रयास जारी रहेको बताए ।