रौतहट, १० असार । मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि करिब ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै विगतदेखि सञ्चालन हुँदै आएका जनमुखी तथा कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बुधबार सम्पन्न नगरपालिकाको दशौं बजेट अधिवेशनमा नगर प्रमुख रिना कुमारी साहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्दै नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने योजना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएकी हो ।
प्रस्तुत बजेटमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै नगरवासीका लागि निःशुल्क विद्युत्, निःशुल्क खानेपानी तथा ‘छोरीसँग मेयर’ कार्यक्रमलाई पनि आगामी वर्षमा निरन्तर सञ्चालन गरिने छ ।
नगरपालिकाले दलित समुदायको जीवनस्तर उकास्न नमूना एकीकृत दलित बस्ती निर्माण कार्यक्रमलाई अघि बढाउनुको साथै ‘कच्ची सडकमुक्त नगर’ अभियानलाई समेत थप प्रभावकारी बनाइने नीति लिएको छ । आधुनिक पूर्वाधार विकास, सामाजिक समावेशिता तथा जनकल्याणका कार्यक्रमलाई बजेटको प्रमुख प्राथमिकतामा राखिएको बताइन् ।
चालु आर्थिक वर्षमा नगरपालिकाले सञ्चालन गरेका नगर गौरवका योजना मध्ये गुणस्तरीय शिक्षा कार्यक्रम, सेनरिनया एकीकृत दलित बस्ती, पिकनिक पार्क तथा मोडल प्राविधिक शिक्षालय उल्लेखनीय रूपमा सफल भएको नगरपालिकाको दाबी छ । त्यस्तै धुवाँमुक्त अभियान, हर हातमा सीप, निःशुल्क बिजुली, निःशुल्क पानी, बेटीके साथ मेयर, साक्षरता अभियान तथा झोपडी मुक्त नगर अभियानले नगरको पहिचान स्थापित गरेको बताइन ।
बजेट प्रस्तुत गर्दै नगर प्रमुख साहले जनतामाथि करको भार थप्ने भन्दा सेवा र सुविधा विस्तार गर्ने नीतिलाई नगरपालिकाले आत्मसात गरेको स्पष्ट पारिन । नगरपालिकाले ‘शून्य कर नीति’ अवलम्बन गर्दै नगरवासीबाट कुनै अतिरिक्त कर, शुल्क वा महसुल नलिने व्यवस्था कायम राखेको जानकारी दिइन ।
“हामी शासक होइन, जनताको सेवक हौं भन्ने मान्यताका साथ नगर प्रहरीभन्दा नगर शिक्षक र नगर चिकित्सकलाई प्राथमिकता दिएका छौं,” नगर प्रमुख साहले भनिन, “जनताले तिर्नुपर्ने पानी र बिजुलीको सम्पूर्ण महसुल नगरपालिकाले व्यहोर्दै आएको छ भने छोरीहरूको विवाहमा जनही ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै अभिभावकीय भूमिका निर्वाह गरेका छौं ।”
यस अवसरमा संघीय तथा प्रदेश सरकारले अपेक्षाअनुसार बजेट विनियोजन नगर्दा स्थानीय तहले अतिरिक्त दायित्व वहन गर्नुपरेको नगरपालिकाले जनाए । शिक्षक, चिकित्सक, स्वास्थ्यकर्मी व्यवस्थापनदेखि खानेपानी, सडक, सिँचाइ र तटबन्ध निर्माणजस्ता क्षेत्रमा संघीय सरकारको भूमिका कमजोर हुँदा नगरपालिकाले आफ्नै स्रोतबाट लगानी बढाउनुपर्नेमा जोड दिइन् ।
मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास तथा सीपमूलक कार्यक्रममार्फत नगरलाई आत्मनिर्भर, समृद्ध र सुविधासम्पन्न बनाउने लक्ष्य लिएको जनाए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन