एआईको सहयोगबाट तयार पारिएका साँकेतिक तस्वीर ।
रौतहट, १५ असार । देशभर २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उत्साहका साथ मनाइरहँदा रौतहटका अधिकांश खेत भने बाँझै रहेका छन् ।
असारको आधा महिना बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ भएका हुन् । समयमै पानी नपर्दा किसानहरुमा निराशा र चिन्ता बढ्दै गएको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा खेती हुने अनुमान गरिए पनि पर्याप्त वर्षा नहुँदा रोपाइँले अपेक्षित गति लिन सकेको छैनन ।
“रौतहटका अधिकांश किसान अकाशे पानीको भरमा खेती गर्छन् । सिँचाइ नहरमा पनि अहिलेसम्म पानी नछोडिएकाले १० प्रतिशत भन्दा बढी क्षेत्रमा रोपाइँ हुन सकेको छैन,“ मण्डलले बताए । उनका अनुसार यस वर्ष मनसुन राम्रो हुने अनुमान गरिए पनि जिल्लामा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा हुन सकेनन ।
विगत चार दिनयता जिल्लाका विभिन्न स्थानमा हल्का खण्ड वृष्टि भए पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामले खेतबारी सुकाएको थियो । अहिलेको वर्षाले केही चिस्यान बढाए पनि व्यापक रूपमा रोपाइँ गर्न पर्याप्त नभएको गढीमाई नगरपालिका–४ का किसान नरेन्द्र ठाकुर बताउँछन् ।
त्यस्तै दुर्गा भगवती–२ का किसान उमेश झाले वर्षाको अभावमा खेती नै संकटमा परेको गुनासो गरे । पम्पसेटबाट कति सिंचाई गर्ने भने उनलाई चिन्ता सताएको छ ।
“हामी वर्षाको भरमा खेती गर्छौं । लामो समयसम्म पानी नपर्दा खेत सुक्यो । पम्पसेटबाट सिँचाइ गर्दा खर्च धेरै लाग्छ, सबै किसानका लागि सम्भव हुँदैन । अहिले केही पानी परेको छ, तर निरन्तर वर्षा भए मात्रै रोपाइँले गति लिन्छ । ढिलो रोपाइँ हुँदा उत्पादन घट्ने चिन्ता छ ।”
किसानहरूका अनुसार निजी पम्पसेटबाट सिँचाइ गर्दा डिजेल, मजदुरी र अन्य खर्च अत्यधिक हुने भएकाले अधिकांश किसान अकाशे वर्षामै निर्भर छन् । तर सिँचाइ नहरमा हालसम्म पानी नछोडिएकाले समस्या थप जटिल बनेको उनीहरूको गुनासो छ ।
गढीमाई नगरपालिका–४ का किसान अनुठा राउतका अनुसार असार भित्रै धान रोपाइँ सम्पन्न हुनुपर्ने भए पनि वर्षा ढिलो हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको छ । समयमै रोपाइँ हुन नसके बिरुवाको वृद्धि कमजोर हुने र अन्ततः उत्पादन घट्ने उनले भने ।
रौतहटमा धान प्रमुख अन्न बाली भएकाले जिल्लाको ठूलो जनसंख्या प्रत्यक्ष रूपमा कृषि पेशामा निर्भर रहेको छ । रोपाइँमा भइरहेको ढिलाइले किसानको आम्दानी मात्र होइन, जिल्लाको समग्र कृषि उत्पादन र खाद्य सुरक्षामा समेत असर पार्ने देखिएको छ ।
कृषि ज्ञान केन्द्रले मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिन भित्र रोपाइँले गति लिने अपेक्षा गरेको छ । यता किसानहरूले पर्याप्त वर्षाका साथै सिँचाइ नहरमा तत्काल पानी छोड्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन