संजय मिश्रा
रौतहट, १९ असार । रौतहटको पश्चिमी उत्तरी क्षेत्रमा पर्ने लालबकैया नदीबाट टेन्डर प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थको अवैध उत्खनन र दोहन भईरहेको आरोप लागेका छन् ।
स्थानीयवासीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही जनप्रतिनिधि बीच अबैध सेटिङको कारण लाल बकैया नदीको दोहन तिव्र रुपमा भईरहेका हुन् ।
स्थानीयका अनुसार इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनिया मातहतको प्रहरी चौकी हरिनगर जंगलसैयाको कार्यक्षेत्र अन्तर्गत पर्ने गर्जा पुल आसपासबाट बिहीबार पनि ढुंगा, गिटी र बालुवाको उत्खनन तथा ढुवानी निर्बाध रूपमा भइरहेको देखिएको छ ।
स्थानीयले प्रहरी चौकी हरिनगर जंगलसैयाका प्रमुख असई रामेश्वर महतोको संरक्षणमा अवैध गतिविधि सञ्चालन भइरहेको दाबी गर्दै निष्पक्ष छानबिन गरी संलग्नमाथि कारबाहीको माग उठेका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुर, सशस्त्र प्रहरी बलको बेस क्याम्प विजयपुर तथा अस्थायी बेस क्याम्प पोखरभिण्डाको समेत मिलेमतोमा नदी दोहन भइरहेको छ । नेपाल सरकारको नीतिअनुसार मनसुन सुरु भएसँगै असार महिनादेखि नदीजन्य पदार्थको उत्खनन पूर्ण रूपमा बन्द गरिने प्रावधान रहेको छ तर गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका अन्तर्गतका विभिन्न घाटमा असार १९ गते सम्म पनि उत्खनन र ढुवानी रोकिएको छैनन ।
स्थानीयका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही जनप्रतिनिधिको अप्रत्यक्ष संरक्षणका कारण अवैध दोहन निरन्तर भइरहेको आरोप लागेको छ । गुजरा र फतुवा विजयपुर नगरपालिकाका विभिन्न घाटबाट दैनिक सयौं ट्रेक्टरले ढुंगा, गिटी र बालुवा ओसारिरहेको बताए । दुवै स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ का लागि हालसम्म नदीजन्य पदार्थ उत्खननको ठेक्का प्रक्रिया समेत टुंग्याउन नसकेको उनीहरूको भनाइ छ । कानुनी रूपमा ठेक्का प्रक्रिया पूरा नभएसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था भए पनि जंगलसहिया, सिमरी, राँगी, बोटावा लगायतका घाटबाट बिहान देखि साँझ सम्म उत्खनन र ढुवानी भइरहेको स्थानीयको दाबी छ ।
समाचार स्रोतका अनुसार नदीबाट सामग्री ओसार्ने ट्रेक्टरबाट विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाएर निर्बाध रूपमा ढुवानी हुने गरेको आरोप समेत लगाइएको छ । साथै केही जनप्रतिनिधिका स्वामित्व वा सम्बन्ध रहेका ट्रेक्टरहरू पनि यही ढुवानीमा प्रयोग भइरहेकाले उनीहरू मौन बसेको स्थानीयको आरोप छ ।
नदीजन्य पदार्थको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले घटनाबारे छानबिन सुरु भइसकेको जानकारी दिँदै “छानबिनबाट जो–कोही दोषी देखिए पनि कानुन अनुसार तत्काल कारबाही गरिनेछ” भन्ने प्रतिक्रिया दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन